२० असार २०८३, शनिबार

दशैंको किनमेल सीमावर्ति भारतीय बजारमा, नेपाली व्यापारी चिन्तित

कात्तिक १, २०७५
दशैंको किनमेल सीमावर्ति भारतीय बजारमा, नेपाली व्यापारी चिन्तित

परासी – दशैंतिहारमा चहलपहल हुने पश्चिम नवलपरासीको सदरमुकाम परासीसहित सुनवल, भूमही, बर्दघाट बजारमा यस पटक खासै चहलपहल छैन । 

दशैंका बेला राम्रो व्यापार गरौंला भनेर पसलमा लगानी बढाएका व्यापारीहरु यतिबेला निराश भएका छन् । उपभोक्ताको रोजाइमा नेपाली बजारभन्दा सीमावर्ती भारतीय बजार पर्न थालेपछि स्थानीय व्यापारी चिन्तित भएका छन् । 

पश्चिम नवलपरासीको महेशपुरसँग जोडिएको भारतीय बजार ठुटिबारीमा अहिले नेपाली उपभोक्ताको घुइँचो नै लागेको छ । तर, नेपालको महेशपुर बजार भने सुनसान छ । त्यहाँ भारतीय नागरिकभन्दा नेपालीकै भीडभाड छ ।

भारतीय व्यापारीलाई सामान बिक्री गर्न भ्याइँनभ्याइँ छ । खुल्ला सीमानाका कारण र सस्तो पाइने भ्रममा परेर नेपाली उपभोक्ता भारतीय बजारमा पुगेर दैनिक उपभोग्य सामानदेखि आवश्यक लत्ताकपडालगायत सबै प्रकारका सामान किनमेल गर्ने गरेका छन् । 

नेपाली उपभोक्ता सस्तो पाइने आशमा भारतीय बजार पुगेर गुणस्तरहीन, तौलमा कमी र मूल्यमा समेत ठगिने गरेको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले बताए । कतिपय नेपाली सामान भारतमा पुगेर भारतीय मूल्यमा किनेर ल्याउँदासमेत उपभोक्ताले आफू ठगिएको पत्तै नपाउने गरेको बताए ।

भारतबाट नेपाल भित्रिने फलफूल तथा तरकारी सस्तो पाइने भएपछि नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्नसमेत समस्या परेको छ । बर्दघाट बजारमा कपडा पसल गर्दै आइरहेका आशिष न्यौपाने दशैंको समयमा पनि अन्य समयमा भन्दा कम व्यापार भएपछि चिन्तित देखिन्छन् ।

न्यौपानेले दशैंलाई लक्षित गरी नियमितभन्दा ३ देखि ४ लाख रुपैयाँको सामान पसलमा थप गरे तर व्यापार प्रायः शून्य भएपछि साहुलाई कसरी तिर्ने भन्ने चिन्तामा उनलाई परेको छ । नेपाली उपभोक्ताहरू कपडा खरिदका लागि भारतीय बजार जान थालेपछि स्थानीय बजारमा उपभोक्ताको संख्या घटेको र व्यापार पनि नभएको नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमले बताए ।

न्यौपाने मात्र होइन, बर्दघाटमा किराना पसल सञ्चालन गर्दै आइरहेका अर्का व्यापारी लक्ष्मण भण्डारीको पनि पीडा उस्तै छ । अहिले उपभोक्ताहरु चिनी, चियापत्ती, मरमसला खरिद गर्न पनि भारतीय बजारमा जान थालेपछि आफूहरुको व्यापारमा कमी आएको उनी बताउँछन् ।

सामान किन्न भारतीय बजार पुगेका सुनवलका टंकनाथ आचार्यले चाडबाडको समयमा घरमा धेरै सामान चाहिने भएको र ठुठीबारी बजारमा नेपाली बजारमा भन्दा सस्तो पाइने भएकाले आफू ठुठीबारी आएको बताए ।

आचार्यले सामानको गुणस्तरका बारेमा आफूलाई थाहा नभएको तर सस्तो र लैजान कुनै रोकतोक नहुँदा आफू सधैं भारतीय बजार आउने गरेको बताए । भारतको ठुठीबारी बजारमा नारायणगढदेखि नवलपुरसम्मका उपभोक्तासमेत किनमेलका लागि जाने गर्छन् । 

salt training

कमेन्ट गर्नुहोस्