
काठमाडौं – बेपत्ता रहेका साउदी पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी अरबका पूर्वकूटनीतिज्ञ माहेर अब्दुलअजीज मुतरेबको प्रमुख भूमिका रहेको अमेरिकी टीभी च्यानल सीएनएनले सूत्रहरूलाई उद्धृत गर्दै दाबी गरेको छ ।
सीएनएनको रिपोर्टअनुसार, साउदीमा अनुसन्धान अधिकारी रहिसकेका मुतरेबलाई खशोग्गी हत्याको षड्यन्त्रको नालीबेली थाहा थियो । उनी युवराज मोहम्मद बिन सलमानको निकटको व्यक्ति भएको बताइन्छ ।
अमेरिकी अधिकारीहरूका अनुसार, सलमानका कुनै निकटवर्ती अधिकारी उनलाई जानकारी नदिइकन विदेशमा गरिने कारवाहीमा भाग लिनै सक्दैन ।
टर्कीको सबाह पत्रिकाले खशोग्गी बेपत्ता हुनुअघिको सेक्युरिटी क्यामरा फूटेजका चार तस्वीर बिहीवार छापेको छ । तिनमा इस्तानबुलस्थित साउदी दूतावासदेखि साउदी राजदूतको घरसम्मको तस्वीर छ ।
तस्वीरहरूमा खशोग्गीको हत्यासँग जोडिएका १५ मानिस र मुतरेबको क्रियाकलाप देखिन्छ ।
एजेन्सी