०५ साउन २०८३, मंगलबार

भक्तपुरमा कुमारीको हातबाट दशैंको टीका ग्रहण

कात्तिक २, २०७५
भक्तपुरमा कुमारीको हातबाट दशैंको टीका ग्रहण
बडादशैंको अवसरमा भक्तपुरको ब्रम्हायणी शक्ति पीठमा लागेको मेलामा परम्परागत बाँसुरी बाजासहित दर्शन गर्न जाँदै स्थानीय

भक्तपुर – विजयादशमीको दिन शुक्रवार जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ । 

विजयादशमीमा भक्तपुरको तलेजुमा जीवित देवीका रुपमा पुजिँदै आएको एकान्त कुमारीको हातबाट टीका ग्रहण गर्न स्थानीयको घुइँचो लागेको हो । 

कुमारी जीविका बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पूजारी, जोशीहरु, कर्माचार्यहरू, गुरू तथा पुरोहितले साइतको टीका लगाएका छन् । कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए । कुमारीले साइतको टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन विभिन्न व्यक्तिहरु तलेजु मन्दिर पुगेका छन् । 

ब्रह्मायणीमा दिनभर जात्रा 

भक्तपुरका बासिन्दाले ब्रह्मायणी मन्दिरमा भव्य जात्रा मनाएका छन् । प्रत्येक वर्ष विजयादशमीको दिन लाग्ने जात्रामा हजारौं स्थानीयवासीको बिहीवार रातिदेखि शुक्रवार दिनभरि नै भीड लागेको छ । 

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि यसदिन भव्य मेला लाग्ने गरेको छ । 

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, काभ्रे, ललितपुर र काठमाडौंका भक्तजनसमेत आएका छन् । यस दिन मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ । 

बिहीवारदेखि व्रत बसेकाहरू शुक्रवार बिहान ३ बजेदेखि घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसरी शरीरमा दियो बाल्नेमा युवापुस्ताको पनि उल्लेख्य सहभागिता रहेको छ । 

टोलटोलबाट विभिन्न धिमे, बाँसुरीलगायत विभिन्न बाजा बजाएर मन्दिरमा पूजा लैजाने र दर्शन गर्नेको ठूलै भीड लागेको छ । जात्रा शुक्रवार राति मात्रै सम्पन्न हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्