२६ जेठ २०८३, मंगलबार

विजयादशमी मनाइयो, विभिन्न घटनामा ९ जनाको मृत्यु

कात्तिक ३, २०७५
विजयादशमी मनाइयो, विभिन्न घटनामा ९ जनाको मृत्यु

काठमाडौं– शुक्रबार नेपालीहरुको महान चाड विजयादशमी देशभर हर्सोल्लासका साथ मनाइयो । 

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ । 

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको  सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ । 

राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको दिनभर विशेष चहलपहल देखियो ।

स्वदेश वा विदेशमा रहेका नेपालीहरु विजयादशमीको दिन सपरिवार एकत्रित भई टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् । 
राष्ट्रपतिद्वारा टीका ग्रहण

    राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा शुक्रबार बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो । 

    राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको हो । 

    स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरूले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गर्नुभएको थियो । 

    शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाअर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दशैघरबाट पूर्णकलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो । 

    राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गर्नुभयो । 

        राष्ट्रपतिले आफ्ना पूजनीय माता मिथिला पाण्डेबाट टीका–जमरा र दक्षिणा ग्रहण गर्नुभयो । साथै उहाँले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरूप टीका–जमरा ग्रहण गर्नुभयो । 

    राष्ट्रपति भण्डारीले छोरीज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादवलाई टीका–जमरा लगाइदिनुभयो । उहाँले परिवारका अन्य सदस्यका साथै राष्ट्रपति कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई पनि टीका जमरा लगाइदिनुभयो । 

    प्रधानमन्त्रीद्वारा टीका ग्रहण 
प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट टीका, जमरा र तिलक ग्रहण गर्नुभयो । 

    प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिनुभएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 


बस दुर्घटनामा तीनको मृत्यु

    चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो ।

    मघाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
यसैबीच     नाच हेरेर मेलाबाट फर्किने क्रममा बारामा ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ । 

    ना४त ३५९१ नंको ट्र्याक्टर पल्टिँदा आदर्श गाउँपालिका–३ का १६ वर्षीय बदन मुखियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकार दिइन् ।

    ट्र्याक्टर पल्टिँदा सोही ठाउँका कृष्णनन्दन घाइते भएको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 


ग्यास सिलिण्डर विष्फोट

जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ ।

विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ । 

सुनकोशी किनारमा मृत फेला

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा एक अज्ञात पुरुष मृत फेला परेका छन् । 

अन्दाजी ३०÷३५ वर्षका देखिने पुरुषको लास फेला परेको दोलालघाट प्रहरी चौकीका हवल्दार सुरेश चौधरीले बताए । 

माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु 

    धनुषाधाम नगरपालिका–४ लक्ष्मीपुरमा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–९ धारापानीका रामअवध यादवकी आठ वर्षीया छोरी सिर्जनाकुमारी यादव रहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । 
    
    माटो खन्न गएका बेला माथिबाट ढिस्को खसेर पुरिएपछि उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

वृद्ध मृतावस्थामा भेटिए

    काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ डुडीगाउँका एक वृद्ध शुक्रबार बिहान मृतावस्थामा भेटिएका छन् । 

    ७६ वर्षका ज्ञानध्वज लामा आफ्नै कटेज बाहिर मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

महिलाको हत्या

    सप्तरीमा एकजना एकल महिलाको हत्या भएको छ ।

    राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको प्रहरीले जनाएको छ ।

    मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ । रक्ताम्य अवस्थामा आज बिहान उनको शव फेला परेको हो । मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार टाउकोमा छ इन्च लम्बाइ र चार इन्च चौडाइको गहिरो खत रहेको छ । 

कारागारमा टीका 

नुवाकोट कारागारका कैदीले एकापसमा टीका तथा जमरा लगाई विजयादशमी मनाएका  छन् ।

विभिन्न मुद्दामा सो कारागारमा थुनामा रहेका १ सय ४१ जना पुरुष र २० जना महिला गरी १ सय ६१ जना कैदीले एकापसमा टीका तथा जमरा लगाउनुका साथै तीन सयभन्दा बढी कैदीका आफन्तबाट टीका ग्रहण गरेका हुन् । 

    
कुमारीको हातबाट टीका ग्रहण

     विजयादशमीको दिन  जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लाग्यो ।

    विजयादशमीमा भक्तपुरको तलेजुमा जीवित देवीका रूपमा पुजिँदै आएको एकान्त कुमारीको हातबाट टीका ग्रहण गर्न स्थानीयवासीको घुइँचो लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्