
नयाँ दिल्ली- रावण बधसँगै आफ्नो जीवन लीलापनि समाप्त हुन्छ भन्ने कल्पनासम्म पनि गरेका थिएनन् दलबीर सिंहले । तर जे सोचिएको थिएन त्यै भइदियो अर्थात रेलले किचेर उनले पनि ज्यान गुमाएका छन् ।
दलवीर सिंहले रावणवध कार्यक्रममा रावणको भूमिका निभाएका थिए ।
रावणवध कार्यक्रम सकेर आफ्नो ८ महिनाका छोरा भेट्नका लागि उनी घरतर्फ जाँदै थिए । त्यतिबेला रेलको लिक छेउछाउमा दर्शकहरुको भीड थियो । जब उनी घरतर्फ केही पाइला सार्दै थिए त्यतिनै बेला उनले रेलको आवाज सुने ।
लगत्तै उनी रेलको लिकमा रहेका मानिसहरुलाई हटाउन लागिपरे । उनको अग्रसरताले कयौंले ज्यान बचाउन सफल भए । तर उनी आफैं भने रेलले किचिएर मृत्युवरण गर्न पुगे ।
सिंह आफ्नी विधवा आमा, पत्नी र ८ महिनाका छोरालाई छाडेर सँधैका लागि बिदा भएका छन् ।
मृत्युपछि दलवीरका आश्रित परिवारले श्रीमतीलाई सरकारी जागिरको प्रवन्ध गरिदिन र दुर्घटनामा दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
शुक्रबार पन्जावको अमृतसरमा भएको सो दुर्घटनामा ५९ जनाको मृत्यु भएको भारतीय टेलिभिजन एनडीटीभीले जनाएको छ ।