०५ साउन २०८३, मंगलबार

भन्सार राजस्व लिन तयार छैन सरकार ! करोडौं राजस्व गुम्दै

कात्तिक ३, २०७५
भन्सार राजस्व लिन तयार छैन सरकार ! करोडौं राजस्व गुम्दै

दार्चुला – ‘हामी सरकारलाई राजस्व तिर्न तयार छौं, तर सरकार राजस्व लिन तयार छैन,’ यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाको । 

विगतमा दार्चुलाका व्यापारीले तिब्बतबाट सिधै सामान आयात गरी सदरमुकाम खलङगामा व्यापार गर्दै आएका थिए । तर पछिल्लो समय तिब्बतको व्यापार शून्य छ । 

तिब्बतबाट आउने सामान ल्याउनको लागि नेपालतिर न बाटो छ न द्वन्द्वकालमा विस्थापित भएका भन्सार कार्यालय नै पुनःस्थापना हुन सकेको छ । सामान ल्याउने बाटो पूरै अवरुद्ध छ । ‘५–६ वर्षयता नेपाली व्यापारीले तिब्बतबाट सामान ल्याउन पाएका छैनन्,’ व्यापारी गणेश बडुले भने । केही वर्ष भारतीय बाटो भएर सामान ढुवानी गरियो । तर भन्सार निकै महंगो हुन थालेपछि तिब्बती सामान ल्याउन छोडिएको छ ।

भारतीय व्यापारीले पनि अहिले सडक विस्तारका कारण सामान चीनबाट आयात गर्न सकेका छैनन् । सुरक्षाको कारण देखाउँदै द्वन्द्वकालमा विस्थापित भएका दार्चुलाका त्रिदेशीय सीमामा रहेको सितापुल तिंकर छोटी भन्सार, दत्तु र जौलजिवी भन्सार हालसम्म पुनःस्थापना गरिएको छैन । 

त्रिदेशीय सीमा तिंकरसँग भारतीय बजार र चीनको स्वसाशित क्षेत्र तिब्बत जोडिएको छ । ‘यो नाकाबाट विगतमा राम्रै व्यापारिक सामान आयात–निर्यात हुने गरेको थियो,’ उद्योग वाणिज्य संघका अध्यक्ष ठगुन्नाले भने, ‘हामी तिब्बतबाट जुत्ता, ज्याकेट, कम्बल, भेडा च्यांग्रा आयात गर्ने गरेका थियौ । तर, पछिल्लो समय नेपालतिरको बाटो नै अवरुद्ध भएपछि सबै व्यापार ठप्प छ ।’ 

दार्चुलाको यार्सागुम्बा सिधै तिब्बत चीन निर्यात हुने गरेको थियो । तर, भन्सार नहुँदा अहिले नेपालले करौडौं राजस्व गुमाउनु परेको छ । हामीले राजस्व तिर्ने चाहना हुँदाहुँदै पनि सरकारले भन्सार स्थापना र सडक निर्माणमा ध्यान नदिएको उनको भनाइ छ । 

तिब्बतबाट आयात–निर्यात हुने वस्तुको भन्सार उठाउन नसक्दा वर्षेनी राज्यले राजस्व गुमाउनु परेको छ । तस्करको मुख्य मार्गको रुपमा रहेको सो क्षेत्रमा राज्यको उपस्थिति कमजोर हुँदा राजस्व संकलनमा न्यून हुँदै गएको छ । भन्सार पुनःस्थापना हुने बित्तिकै राज्यले सुरक्षा उपस्थित गराउन सक्ने भएपनि राज्यले चासो नलिएको व्यापारी बडु बताउँछन् ।

अहिले तिंकरमा राज्यको नियमित उपस्थितिको रुपमा नेपाल प्रहरी मात्रै छ । सीमित स्रोतसाधनबीच नेपाल प्रहरी बसेपनि भन्सार राजस्व संकलन गर्न सक्ने अवस्थामा छैन । व्यास क्षेत्रमा बसोबास गर्ने व्यासीहरुको लागि अधिकांश सामान अहिले पनि तिब्बतबाटै आयात हुने गरेको छ । 

खलंगामा केही व्यापारीले सोही नाका भएर अवैधरुपमा सामान भित्र्याएर कारोबार गर्ने गरेका छन् । स्थानीयको उपस्थिति नभएको बेला तस्करको लागि तिब्बत सामान ढुवानीमा सजिलो नाका यही हो । 

नाका भएर आयात–निर्यात गरिने केही वैध वस्तुको छोटी भन्सार कार्यालय खलंगाबाटै भन्सार चेकपास गर्नुपर्ने बाध्यता रहेको छोटी भन्सार कार्यालयले जनाएको छ । नेपाल–भारत सीमा नाका सितापुलमा छोटी भन्सार नहुँदा प्रहरीले मात्रै चेकजाँच गर्नुपर्ने बाध्यता छ । 

salt training

कमेन्ट गर्नुहोस्