
सुर्खेत – सल्यान जिल्लाको कालिमाटी गाउँपालिकासँग सिमाना जोडिएको गुर्भाकोट नगरपालिका–२ गहिरी बजार केही वर्ष पहिले विकट थियो ।
पर्याप्त सिँचाइको सुविधा भएको, उब्जनीयोग्य जमिन हुँदाहुँदै पनि प्रायः व्यक्तिले धान खेती मात्रै गर्ने गरेका थिए । किसानको मुख्य उब्जनी गर्ने खाद्यपदार्थ धान र गहुँ थियो ।
अहिले अवस्था फेरिएको छ । दाङदेखि बोटेचौर जोड्ने मदन भण्डारी राजमार्ग निर्माणमा तीव्रता आएको छ । सुर्खेतको बोटेचौरबाट झण्डै १ घण्टाको मोटर यात्रापछि पुगिने गहिरी बजारबाट अहिले काठमाडौं, सुर्खेत, नेपालगञ्जका लागि बस छुट्ने गरेका छन् ।
यातायात सुविधा पुगेपछि स्थानीयले तरकारी खेती गर्ने गरेका छन् । नजिकै जंगल भएका कारण स्थानीयले गाई र बाख्रापालन पनि राम्रोसँग गरिरहेका छन् । टमाटर खेती उनीहरूको मुख्स आयस्रोत नै बनेको छ ।
तरकारी खेती गर्ने मध्येका एक किसान हुन् यामबहादुर बुढा । ‘पहिले गाडी नआउँदा र सडक सञ्जालले नछुँदा हामीले गरेको उत्पादनलाई बजारसम्म लैजान सकिँदैनथ्यो,’ बुढाले भने, ‘अहिले हाम्रो समय फेरिएको छ, तरकारी र टमाटर बिक्री गर्न बजार खोज्न पर्दैन । ग्राहक घरमै आएर लैजाने गरेका छन् ।’
धानखेती पाक्ने बेला उनले केही जमिनमा काउली, सागपात लगायतको बेर्ना रोपेका छन् । ‘अबको केही दिनमै धानखेती ओसारेर तरकारी खेती लगाउन शुरू गर्ने छौं,’ उनले भने, ‘बारीमा मैले गोभी, काउली, आलु र सागपात लगाउने योजना बनाएको छु ।’
अर्का किसान यामबहादुर थापाले पनि अहिले टमाटर खेती गरेका छन् । उनको बारीमा अहिले घिरौला तथा सिजनमा फल्ने अन्य लहरे तरकारी फलेका छन् । करेला पनि उनको बारीमा फलेको छ ।
उनले गत वर्ष मात्रै तरकारी खेतीबाट ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरे । उनका अनुसार तरकारी खेती गर्न सकेको खण्डमा मनग्यै कमाइ हुने गरेको छ ।
‘गहिरी बजारमा तरकारी उत्पादन गर्न सके दाङको तुलसीपुर तथा सुर्खेतको बोटेचौर, छिन्चु वा वीरेन्द्रनगरसम्म बिक्री गर्न सकिन्छ,’ उनले भने, ‘तर, त्यसका लागि इमान्दारिता र काम गर्ने इच्छाशक्ति हुनुपर्छ ।’