
काठमाडौं– नवलपरासी र रामेछापमा भएको छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको ज्यान गएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा आज बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ५१ जना घाइते भएका छन् ।
इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको तीब्र गतिको बस अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।
बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए ।
दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
यस्तै रामेछापमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
रामेछाप नगरपालिका–१ गोगनेमा शनिबार साँझ सो दुर्घटना हुन पुगेको हो ।
जिपमा सवार रामेछाप नगरपालिका–१ गोठगाँउका ४५ बर्षीय दुर्गा बहादुर कार्की र सोही स्थानकी ७५ बर्षीया ललिमाया कार्कीको घटनास्थलमै र जीप चालक सोही ठाउँका २६ वर्षीय हेम बहादुर खत्रीको उपचारको क्रममा धुलिखेल अस्पताल काभ्रेमा गएराती नै मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको काठमाडौँ मैडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।
रामेछापकै सालुबाट गोठपानीतर्फ जाँदै गरेको ना १ ज ४८ १२ नम्बरको जिप सडकबाट करीब २५० मिटर तल खस्दा सो दुर्घटना हुन पुगेको थियो ।