
काठमाडौं — चीनले संसारको सबभन्दा ठूलो सीप्लेन एजी६०० को परीक्षण उडान शनिवार पूरा गरेको छ ।
विमानले उडान भरेको १५ मिनेटपछि पानीमाथि अवतरण गरेको थियो । परीक्षणका बेलामा चार क्रू मेम्बर उपस्थित थिए । हावामा उडान भर्नुका साथै यो विमान पानीमा पनि हिँड्न सक्छ ।
अघिल्लो महिना यो विमानले पानीमा अधिकतम १४५ किलोमिटर प्रतिघन्टाको गतिमा परीक्षण पूरा गरेको थियो ।
एजी६०० को लम्बाइ ३७ मिटर र पखेटाको विस्तार ३८.८ मिटर छ । यो २० सेकेकन्डमा १२ टन पानी जम्मा गर्न सक्छ । सीप्लेनले ५३.५ टन तौल बोक्न सक्छ ।
एजी६०० मा चारवटा टर्बोप्रप इन्जिन छन् । यी इन्जिनहरूले १२ घन्टासम्म उडान गराउन सक्छन् ।
विमानलाई चीनको सरकारी कम्पनी एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइनाले तयार पारेको हो ।
शिन्ह्वाका अनुसार, यो विमानलाई विशेषगरी समुद्रमा उद्धारकार्यमा, जंगलमा आगो निभाउन र समुद्री तटको निगरानीमा प्रयोग गरिन्छ ।
एजेन्सी