काठमाडौं — दक्षिण अफ्रिकाको उत्तरपूर्वी प्रान्त लिम्पोपोमा एक ट्रकले अनेकौं वाहनमा ठक्कर दिएपछि २७ जनाको मृत्यु भएको छ भने अन्य कैयौं घाइते भएका छन् ।
प्रान्तीय यातायातमन्त्री मकोमा मखुरुपेत्जेले ट्रकको अघिल्लो एक टायर पड्केपछि चालकले नियन्त्रण गुमाएको र ट्रकले विपरीत दिशाबाट आएका अनेकौं वाहनलाई ठक्कर दिएको जानकारी दिए ।
ती वाहनमध्ये एउटा मिनीबस पनि थियो जसमा १२ मानिस थिए । मिनीबस लिम्पोपोबाट देशको आर्थिक राजधानी जोहानेसबर्ग गइरहेको थियो ।
दुर्घटनामा घाइते चारजनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । यो दुर्घटना दक्षिण अफ्रिकालाई जिम्बाब्वेसँग जोड्ने सडकमा भएको हो ।
एजेन्सी