०४ साउन २०८३, सोमबार

५ सय नेपाली कलाकार अमेरिकामा ‘ग्रिनकार्ड’ लिएर पेट्रोल पम्पदेखि होटलमा काम गर्दै

कात्तिक ५, २०७५
५ सय नेपाली कलाकार अमेरिकामा ‘ग्रिनकार्ड’ लिएर पेट्रोल पम्पदेखि होटलमा काम गर्दै

काठमाडौं – नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्त राज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको संख्या ५०० नाघेको छ । 

उचित वातावरण भएमा आफूहरू स्वदेश फर्कन तयार हुने जनाएपनि उनीहरू उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार संघ’का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५ सय २ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन् । 

संघले यसबारे संकलित विवरण सहितको पुस्तक प्रकाशनको तयारी पनि गरेको छ । तीमध्ये कतिपयले अन्य कामसहित कलाकारितालाई पनि निरन्तरता दिएका छन् भने कतिपय पेशाबाट पलायन भएका छन् । 

‘सेलिब्रेटी’ कलाकारलाई त्यहाँको सरकारले ‘एक्स्ट्रा अर्डिनरी आर्टिस्ट’को मान्यतासमेत दिने भएकाले उनीहरू उतै सम्मानित भएको अनुभव गर्छन् । कतिपय कलाकार नेपाल आउने जाने गर्छन् भने कतिपयले नेपाली नागरिकता त्यागिसकेका छन् । स्थायी आवास अनुमतिपत्र हुनेले अमेरिकामा स्थायी बसोबास र काम गर्न पाउने छन् भने ३ वर्षपछि त्यहाँको नागरिकता लिने प्रक्रियामा सहभागी हुन पाउने छन् । 

दशैंका अवसरमा अमेरिका पुगेका वरिष्ठ संगीतकार टीका भण्डारी र कलाकारबीच न्यूयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा सामूहिक टीका तथा शुभकामना साङ्गीतिक साँझ कार्यक्रममा अध्यक्ष बुढामगरले सो जानकारी दिएका हुन् । भण्डारीसँगै कलाकार सपना श्री, गायक नरबहादुर दाहाल, शिशिर श्रेष्ठ, विमल डाँगी मगर, शिशिर श्रेष्ठबाट कलाकार तथा सञ्चारकर्मीले सामूहिक टीका लगाइएको कार्यक्रममा नेपाली कलाकार, साहित्यकार तथा बुद्धिजीवीको अमेरिकाप्रतिको मोह र बाध्यताबारे समीक्षा पनि गरिएको थियो । 

निजामती, राजनीति, उद्योग, व्यावसाय क्षेत्रका व्यक्ति पनि विगतमा अमेरिका पलायन भएका घटना छन् । पछिल्लो समय नेपाल सरकारले डीभी पीआरधारी राष्ट्रसेवकलाई कारवाहीको चेतावनी दिएपछि कर्मचारीमा अमेरिका जाने आकर्षण बाध्यतावश घटेको थियो । 

संघका अनुसार अमेरिकामा रहने कलाकार कतिपय कोल्डस्टोर, पार्लर, पेट्रोल पम्प, होटल र रेस्टुराँमा काम गर्छन् भने कतिपयले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरू प्रतिघण्टा १० देखि १३ अमेरिकी डलर कमाउँछन् । कोही अध्ययनमा पनि लागेका छन् । स्वदेशमा लामो सशस्त्र द्वन्द्व चलेको र नेपाली चलचित्र क्षेत्रले उद्योगको रुप लिनुभन्दा अघिदेखि कलाकार विदेश पलायन हुन थालेका हुन् । 

रेडियो नेपालका उपनिर्देशकसमेत रहेका संगीतकार भण्डारीले भने, ‘स्वदेशमा समृद्धि र स्थायित्वको लहर चलेका बेला अमेरिकामा बस्ने नेपाली कलाकारको संख्या बढ्नु पक्कै पनि शुभसंकेत होइन, उनीहरूलाई फर्काउने वातावरण सिर्जना गर्नुपर्छ ।’ उनले ती कलाकारमा नेपालका लागि अझै केही गरौं भन्ने भावना आफूले पाएको जनाउँदै उनीहरूलाई पेशा वा देशबाट पलायन भएका भनिहाल्न नहुनेमा जोड दिए ।

कलाकार प्रेमराजा महत, सरोज खनाल, जीवन लुइँटेल, रमित ढुङ्गेल, रामप्रसाद खनाल, महेन्द्र बुढाथोकी, नारायण पुरी, कृष्ण चापागाईं, अरुणिमा लम्साल, रञ्जना शर्मा, साहित्यकार ज्ञानेन्द्र गदाललगायत अमेरिकामै बस्दै आएका छन् । अघिल्लो दशकमा केही समय उता बसेर नायिका करिष्मा मानन्धर स्वदेश फर्केका थिए भने नायक भुवन केसीले अमेरिकाको ‘ग्रिनकार्ड’ लिन अस्वीकार गरेका थिए ।

अमेरिकाको स्थायी नागरिकता लिएका कलाकार तथा सञ्चारकर्मी रवी लामिछानेले हालै अमेरिकाको नागरिकता त्यागेको घोषणा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्