
कपिलवस्तु— कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यू ६ घण्टाका लागि हटाइएको छ । सीमा बजार कृष्णनगरमा मंगलबार बिहान ६ बजेदेखि दिउँसो १२ बजे सम्मकालागि कर्फ्यू हटाइएको हो ।
जनजीवन सहज बन्दै गएकाले ६ घण्टा कर्फ्यू हटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुरक्षास्थिति सुधार भई अवस्था सामान्य बन्दै गएपछि केही समयमालागि कर्फ्यू हटाइएको प्रजिअ अर्जुनप्रसाद पोखरेलले बताए । १२ बजेपछि अवस्था हेरेर कर्फ्यूलाई निरन्तरता दिने नदिनेबारे निर्णय लिइने उनको भनाइ छ ।
दुर्गा मूर्तिलाई बजार परिक्रमा गराउने क्रममा शुक्रबार साँझ उक्त झाँकी माथि ढुंगा हानिएपछि विवाद हुँदा ३ दिनदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । त्यसपछि आइतबार साँझ ५ बजेबाट अनिश्चितकालिन कर्फ्यू लगाइएको थियो ।
सोमबार बिहान ८ देखि साँझ ५ बजेसम्म कर्फ्यु हटाइएको थियो । त्यसपछि रातको समयमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी सोमवार साँझ ५ बजेदेखि पुनः अनिश्चितकालिन कर्फ्यू लगाइएको थियो ।