
दिल थापा
यसरी ओइरियो शुभकामनाहरु
हिमपहिरो ओइरिए जसरी मैले थाम्नै सकिन ।
सायद शुभकामनाहरु
यो जिन्दगीलाई थियो ।
सायद शुभकामनाहरु
यो दुई मुठी सासलाई थियो ।
सायद शुभकामनाहरु
जिन्दगीलाई कुल्चेर हिड्ने जिन्दगीलाई थियो।
आजकाल म धेरै सोच्छु ।
मेरो जिन्दगीलाई शून्यतामा लगेर सोच्छु ।
अनि मेरो जिन्दगीलाई
शून्यताभन्दा केही पर राखेर पनि सोच्छु ।
खै यो जिन्दगीको कैले लम्बाई पुग्दैन ।
कैले चौडाई ।
गहिराई पुग्ने झन कैले हो कैले ।
कति तन्काउ
कति फुकाउ
यो जिन्दगीलाई मैले ।
आजकाल त यो जिन्दगीलाई
तन्काउन पनि
फुकाउन पनि
छोडी दिए ।
त्यसैले होला चुमुरुक्क चाउरी परेको छ।
त्यसको फैलावट मैले हिजो
कल्पना गरेको जिन्दगीसम्म सरेको छ।
यो जिन्दगी सिनो पनि रहेछ।
वास्नासुजित फुल पनि रहेछ ।
गन्ध आएनी सुंग्नुपर्ने
वास्ना आएनी सुग्नुपर्ने ।
वास्नासुजित जिन्दगीभनेर म त्यो बालापन सम्झन्छु ।
सिनो भनेर अहिलेको औडाहा जिन्दगीलाई सम्झन्छु ।
हिजो मैले जिन्दगीलाई के सोच्थे ?
कस्तो परिभाषाभित्र राख्थे ?
आज त्यसले कुनै प्रकारको मूल्य राख्दैन् ।
हो जिन्दगीलाई आस्तिक भएर सोचेपनि
नास्तिक भएर सोचेपनि
जिन्दगी शून्य नै रहेछ।
जिरो रहेछ।
नासवान रहेछ।
हामीले जिन्दगी भर गरिने प्रयासहरु फगत रहेछ।
यो जिन्दगीलाई तताए पनि ।
चिसो पारे पनि
हुने केही होइन ।
हिन्दु बने पनि क्रिश्चियन बने पनि
बुद्धित नै बने पनि
यो जिन्दगीले लछारपाटो लाउने केही होइन ।
त्यसैले आजकाल यो जिन्दगीलाई
सडकको गल्लीगल्लीमा छाडा छोडिदिएको छु ।
त्यसैले होला एकदिन मलाई
नगरपालिकाले जथाभावी छाडा छोड्दा
सडक दुर्घटना हुन्छ भनेर
सम्झाउन बोलाएको थियो।
अर्का दिन प्रहरी कार्यालयले
तपाईको हराएको जिन्दगी
हाम्रो सम्पर्कमा आएको छ
लिन आउनु भनेर फोन गरेको थियो ।