
काठमाडौं — अघिल्लो सप्ताहान्तमा पोस्ट गरिएको एउटा भिडियोमा एक युवती सेतो कारको चालकको सीटबाट लडेको जस्तो देखिन्छ । उनको कालो चश्मा बांगिएको छ र उनको एउटा रातो तलुवा भएको जुत्ता खुस्केको छ ।
उनको महंगो लिपस्टिक, एउटा पर्स र एउटा शपिङ ब्याग उनका वरिपरि छरिएका छन् । सडक सफा गर्ने एक व्यक्ति उनीनजिक आउँछन् र सोध्छन् ः ‘नानी, तिमी यो सबै सामान राखिरहन्छ्यौ कि म सफा गरिदिऊँ ?’
भिडियोमा देखिएकी महिलाले मध्य चीनमा रहेको शियानबाट पोस्ट गरेकी हुन् र उनी चीनमा अहिले चलेको इन्टरनेट ट्रेन्ड शुआन्फु तियाओझान वा आफ्नो सम्पत्ति देखाउने चुनौतीमा भाग लिइरहेकी हुन् ।
फलिङ स्टार्स चुनौती पनि भनेर चिनिने यो ट्रेन्डमा सहभागीहरू आफ्ना समाना बाटामा छरेर आफू तल घोप्टिएको तस्वीर पोस्ट गरिरहेका छन् । उनीहरू भ–याङबाट वा कारबाट लडिरहेका जस्ता देखिन्थे ।
यो प्रवृत्ति रुसबाट शुरू भएको मानिन्छ र धनी इन्टरनेट प्रयोगकर्ताहरूले आफ्ना विलासी वस्तु संसारलाई देखाउने गरेका छन् ।
चीनमा पनि यो ट्रेन्ड संलग्न यही शताब्दीमा जन्मिएका धनी युवाहरूमाझ चलेको छ । एउटा पोस्टमा शाङ्शीमा रहेकी एक महिला पार्किङ लटमा रहेको भुइँमा घोप्टो परेको देखिन्छिन् र रातो फरारी कारबाट लडेको जस्तो लाग्छिन् ।
अर्को पोस्टमा चीनको पूर्वी झेजियाङ प्रान्तमा दुई महिला सडकपेटमा आफ्नो गुच्ची झोला र मेकअपका सामानका साथ घोप्टो परेर लडेको देखिन्छ ।
यो ट्रेन्ड धनीहरूले आफ्नो सम्पत्ति संसारलाई देखाउने क्रमबाट अघि बढेको छ र सामान्य चिनियाँहरू पनि यसमा संलग्न छन् । यसको ह्याशट्यागले वीबो माइक्रोब्लगमा दुई अर्बभन्दा बढी भ्युज पाएको छ ।
द गार्डियनबाट