
काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूलाई बुधवार पाइप बम पठाइएपछि देशमा आतंकको वातावरण बनेको छ । मध्यावधि निर्वाचन आउन दुई हप्ताभन्दा कम समय बाँकी रहँदा आतंक फैलिएको हो ।
विस्फोटक पदार्थ भरिएका प्याकेजहरू पूर्वराष्ट्रपति बाराक ओबामा र राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनलाई पठाइएको थियो तर तिनलाई अमेरिकी सिक्रेट सर्भिसले निष्क्रिय पारेको थियो ।
अर्को शंकास्पद प्याकेज पूर्व महान्यायाधिवक्ता एरिक होल्डरलाई सम्बोधन गरेर पठाइएको थियो । लक्ष्यमा पुग्नुअघि नै त्यसको पत्ता लागेको हो ।
डेमोक्रेटिक कंग्रेसवुमन म्याक्सिन वाटर्सलाई पठाइएका दुई शंकास्पद प्याकेजहरू पनि एफबीआईले पत्ता लगाएको थियो । संघीय अनुसन्धान अधिकारीहरूले पूर्व उपराष्ट्रपति जो बाइडनलाई सम्बोधन गरेर पठाइएको शंकास्पद
प्याकेज पत्ता लगाउने कोशिशमा छन् ।
अनि सीएनएनले न्युयोर्कस्थित आफ्ना स्टुडियोहरू पनि मेलरूममा विस्फोट पदार्थ पाइएपछि खाली गराएको थियो । यो प्याकेज सीआईएका पूर्वनिर्देशक जोन ब्रेन्ननलाई सम्बोधन गरेर पठाइएको थियो । ब्रेन्ननको ट्रम्पसँग प्रायः विवाद
परिरहन्छ ।
बुधवार राति ती प्याकेजहरू एफबीआईले भर्जिनियास्थित आफ्नो ल्याबमा परीक्षण गरिरहेको छ ।
अर्बपति उदारवादी दाता जर्ज सोरोसको न्युयोर्कस्थित घरमा रहेको मेलबक्समा सोमवार बम प्याकेजमा राखेको अवस्थामा फेला परेको थियो । एफबीआईले यो डिभाइस र फेला परेका अन्य चारमा उस्तै खाम प्रयोग भएको र उस्तै
ठेगाना लेबलिङ र स्टाम्प फेला पारेको जनायो ।
केही डेमोक्रेट नेताहरूले नोभेम्बर ६ मा हुन लागेको कंग्रेस निर्वाचनअघि पार्टीका शीर्ष नेताहरूमाथि आक्रमण गरिएको भनी डर व्यक्त गरे । न्युयोर्क प्रहरी आयुक्त जेम्स ओनीलले ट्रम्पको विरोध गरेकैले ती नेताहरूलाई बम
पठाइएको हुनसक्ने बताए ।
बम पठाउने व्यक्ति वा समूहको खोजी जारी छ ।
द गार्डियनबाट