
काठमाडौं – ʻकहीँ नभएको जात्रा हाँडीगाउँमा’ यो उखान नेपाली समाजमा चर्चित छ । तर धेरैलाई हाँडीगाउँको जात्राबारे थाहा नहुन सक्छ ।
प्रत्येक वर्ष दशैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइने जात्रा बिहीवार (आज) मनाइएको छ । ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी बिहीवार तीनवटा रथलाई हाँडीगाउँ परिक्रमा गराई यो जात्रा मनाइएको हो ।
चोक्टे नारायणको जात्रा पनि भनिने यस जात्राको विषेशता भनेको रथको सबैभन्दा माथि सत्यनारायण भगवानको मूर्ति राखिएको हुन्छ । त्यसपछि तीनतले छाना हुन्छ र अन्तमा गजुर तलतिर फर्काएर राखिएको हुन्छ ।
छतलाई फनफनी घुमाउँदै टोल परिक्रमा गराउने गरिन्छ । उल्टो गजुर हुने भएकोले कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान रहँदै आएको सांसद तथा स्थानीयवासी नारायण सिलवाल बताउँछन् ।
परापूर्वकालमा त्यहाँकी राजकुमारीले सत्यनारायणको अपहेलना गरेका कारण १२ वर्षसम्म सुत्केरी हुन सकिनन् । पछि यो जात्रा गरेपछि राजकुमारी सुत्केरी भइन् भन्ने विश्वास रहँदै आएको छ ।
जात्राको एकैपटक दर्शन र पूजा गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ ।
हेर्नुहोस्, केही फोटो :













