१० असार २०८३, बुधबार

उपमहानगरले शुरू गरेको घरको नक्सापास सेवामा सेवाग्राही दंग

कात्तिक ८, २०७५
उपमहानगरले शुरू गरेको घरको नक्सापास सेवामा सेवाग्राही दंग

बुटवल – बुटवल उपमहानगरपालिकाले घरको नयाँ डिजाइन सेवा लिन सेवाग्राहीलाई सम्मान गरेको छ ।

उपमहानगरपालिकाले शुरू ‘हेल्प डेक्स’ मार्फत् घरको नक्सा र डिजाइनको सेवा लिने १४ जना सेवाग्राहीलाई कार्यालयमै बोलाएर बिहीबार सम्मान गरेको हो । 

गएको साउनदेखि बुटवल उपमहानगरपालिका आफूले घर बनाउने स्वीकृतिदेखि त्यसको डिजाइन बनाउनेसम्मका काम अब उपमहानगरभित्रै थालेको थियो । यो नयाँ अभियानका लागि विशेषज्ञ अर्थात् प्रविधिक उपमहानगरभित्रै व्यवस्था गरिएका छन् । 

सेवाग्राहीले एउटा घरको नक्सा पास गराउन बाहिर कन्सलटेन्सी सञ्चालन गरेका इन्जिनियरमार्फत् गराए २५ देखि ४० हजार रूपैयाँ खर्च हुने भएपछि उपमहानगरपालिकाभित्रै स्किवार फिटका आधारमा ५ देखि ८ हजार रूपैयाँमा गर्ने व्यवस्था थालेको थियो । बुटवलमा प्रत्येक वर्ष झण्डै १ हजार ५ सय नयाँ घर बन्छन् । यस्तो सेवा पाएपछि सेवाग्राही खुसीले दंग छन् । 

प्राविधिक जनशक्ति राखेर सेवा प्रदान गर्ने भएकाले नगरवासीले घर नक्सा बनाउन व्यहोर्नुपरेको अनेक झन्झट र एकाधिकारसमेत तोडिने उपमहानगरको विश्वास छ । बुटवल–११ की अमृता पौडेलले नगरपालिका आफूले शुरू गरेको घरको नक्सा र डिजाइन प्रक्रिया सहज रहेको बताइन् ।

उनले भनिन्, ‘कन्सलटेन्सीमार्फत् जाँदा प्रक्रिया झन्झटिलो थियो । तर, नगरपालिकाबाट सहज छ । कर्मचारीले पनि कुनै झर्को नमानी काम गरिदिनुभयो ।’

बुटवल–९ का हेमबहादुर राउतले छोटो प्रक्रियामार्फत् काम हुनुपर्ने बताए । उनले भने, ‘यहाँबाट नक्सा पास र डिजाइन गराउँदा डेढ देखि २ महिला लाग्छ । यसलाई १५ दिनमा सबै प्रक्रिया पूरा गराउने गरी काम गरिनुपर्यो ।’ बुटवल–१२ नयाँगाउँका नरहरि भुसालले घरको डिजाइन र नक्सापासमा काम गर्ने कर्मचारीहरू फिल्डमा पुगेर पनि निरीक्षण गर्न आवश्यक भएको बताए ।  

उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले विषय विज्ञ र नगरका प्राविधिकको सुझावका आधारमा मापदण्ड अनुरुपका नयाँ–नयाँ र आधुनिक घरहरुको डिजाइन प्रोफाइल तयार पारेर सेवाग्राहीलाई देखाइने बताए ।

सो अवसरमा बोल्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नागरिकलाई गुणस्तरीय र सर्वसुलभ रूपमा सेवा प्रदान गर्न यो अभियान थालिएको बताए । उनले घरको डिजाइन र नक्सा पासको काममा जनप्रनिनिधिहरू नै खटिएर काम गरेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्