
काठमाडौं १६ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको स्वीकार्यता बढाएर निर्वाचन गर्न केन्द्रित रहेको बताएका छन् । न्याय र परिवर्तनका पक्षधरहरु मिलेर मात्र चमत्कार हुन सक्ने उनको भनाइ थियो ।
२१४४ औं ल्याल्मो ल्होसारको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चाका नेताहरुसँग छलफल गरिरहेको बताएका हुन् । ‘आजै मेरो मधेशी मोर्चाका नेताहरुसँग छलफल छ । सरकार संविधानको स्वीकार्यता बढाएर देशलाई निर्वाचनमा लैजाने संकल्पमा छ । हामीले सबै समुदायको पहिचान र अधिकारका लागि हाम्रो मत प्रष्टसँग राखेका छौं’ प्रचण्डले भने ।
सबै जातिभित्र फरक फरक वर्गका मान्छेहरु रहेको उल्लेखगर्दै प्रधानमन्त्रीले न्याय, समानता र परिवर्तनका पक्षधर सबै शक्ति र समुदाय मिले मात्रै चमत्कार गर्न सकिने बताए । उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा लैजान दुई वर्षदेखि लडेको दावी गरे ।
कार्यक्रममा एमाले नेता कृपाशुर शेर्पाले आफ्नो समुदायको अधिकारका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । कार्यक्रममा शेर्पा समुदायको अधिकार र पहिचानको पक्षमा क्रियाशील विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।