०४ साउन २०८३, सोमबार

११ वर्षपछि मेस्सी-रोनाल्डोविनाको एल क्लासिको, चम्केला कसको भाग्य ?

कात्तिक ९, २०७५
११ वर्षपछि मेस्सी-रोनाल्डोविनाको एल क्लासिको, चम्केला कसको भाग्य ?

काठमाडौं – विगत दश वर्षमा एल क्लासिकोमा दुई महान् फूटबलरहरूको तीव्र प्रतिस्पर्धा देख्न पाइन्थ्यो । तर ती दुवै आइतवार हुन लागेको खेलमा देखिनेछैनन् । 

स्पेनी क्लब बार्सिलोना र रियाल मड्रिडबीचको प्रतिस्पर्धालाई एल क्लासिको भनी चिनिन्छ । उनीहरूबीच बार्सिलोनाको गृहमैदान क्याम्प नूमा प्रतिस्पर्धा हुन लागेको हो । 

रियालका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो त्यस क्लबका लागि नौ वर्ष खेलेर अहिले युभेन्टस गएका छन् । नौ वर्षमा उनले क्लबका लागि ४५० गोल गरे अनि चारवटा च्याम्पियन्स लीगसहित १५ वटा ट्रफी जिते । 

बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सी पनि एल क्लासिकोमा देखिनेछैनन् किनकि अघिल्लो हप्ता सेभियासँगको खेलमा हात भाँचिएपछि उनी तीन हप्ताका लागि बाहिरिएका छन् । 

ला लिगामा बार्सिलोना शीर्ष स्थानमा छ र रियाल मड्रिडभन्दा चार अंकले अघि छ । 

सन् २००७ को क्लासिकोपछि मेस्सी र रोनाल्डोविनाको यही नै पहिलो खेल हो । त्यतिखेर रियालले जुलियो बाप्तिस्ताको एकमात्र गोलको सहायताले बार्सालाई हराएको थियो । 

त्यसयता मेस्सी र रोनाल्डो नै एल क्लासिकोमा छाएका छन् । मेस्सीले एल क्लासिकोमा अरू सबैभन्दा बढी गोल  (२६ गोल) र १४ वटा असिस्ट गरेका छन् । रोनाल्डोले भने लगातार क्लासिकोहरूमा गोल गर्ने कीर्तिमान कायम गरेका छन् । सन् २०१२ मा भएका सबै ६ खेलमा उनले गोल गरेका हुन् । 

अब बार्साले मेस्सीको अनुपस्थितिमा कस्तो खेल देखाउला त ? अनि रियाल कसरी रोनाल्डोको ह्याङओभरबाट मुक्त होला ? यी दुईको अनुपस्थितिले खेलको संरचनामा कस्तो प्रभाव पार्ला ? 

रियाल मड्रिड रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानको अनुपस्थितिमा संघर्षरत छ । लोस ब्लान्कोस भनी चिनिने रियालले लीगका पछिल्ला चारमध्ये तीन खेल हारेको छ र अंकतालिकाको सातौं स्थानमा झरेको छ । यसले गर्दा नयाँ व्यवस्थापक जुलेन लोपेतेगुईको जागिर नै धरापमा परेको छ । 

उनीहरूको समस्याको जरो स्पष्ट नै छ : उनीहरूले ती चार खेलमा जम्मा एउटा गोल गरेका छन् र त्यो गोल पनि लेभान्टेसँग हारेको खेलमा लेफ्ट ब्याकका मार्सेलोले हानेका हुन् । 

च्याम्पियन्स लीगमा भिक्टोरिया प्लजेनविरुद्धको जीतले पनि उनीहरूलाई शान्ति दिएन । हो, करिम बेन्जिमाले लगभग दुई महिनापछि गोल गरे अनि मार्सेलोले एक गोल थपे । तर रियालको विजय त्यति दह्रो थिएन जबकि रोनाल्डो हुँदा यस्ता खेल रियालले सजिलै जितिदिन्थ्यो । 

विगत आठ सीजनमा प्रत्येक सीजनमा कम्तीमा ४० गोल गर्ने खेलाडीलाई बेचेर भरपर्दो विकल्प नल्याएपछि त्यसको दुष्परिणाम त क्लबले भोग्नुपर्ने नै भयो । अझ रोनाल्डो हिँड्नु भनेको त क्लबको समस्याको एउटा पाटो मात्र हो । वास्तवमा भन्ने हो भने टोलीमा गोल गर्न सक्षम खेलाडीको खडेरी नै परेको छ । 

रियालले सन् २०१७ मा लीग र च्याम्पियन्स लीग दुवै जित्दा ४८ गोल त रोनाल्डो, अल्भारो मोराटा र हामेस रोड्रिगेजले गरेका थिए । अहिले उनीहरू सबैले क्लब छोडिसकेका छन् र आफूलाई प्रमाणित गरिनसकेका मारियानो डियाज टोलीमा छन् । 

हुन त टोलीमा सिर्जनात्मक प्रतिभा भएका धेरै खेलाडी छन् । कुनै पनि व्यवस्थापकले ग्यारेथ बेल, इस्को, मार्को एसेन्सियो र बेन्जिमालाई प्रयोग गर्न पाउनु भाग्यकै कुरा हो । तर यी कुनै पनि खेलाडीहरू गतिला स्कोरर हैनन् । उनीहरू पेनाल्टी एरियाबाहिर सर्वोत्कृष्ट प्रदर्शन गर्छन् अनि गोल गर्नुभन्दा पनि गोल गर्ने वातावरण मात्र मिलाउँछन् । 

रियाल मड्रिड यो वर्ष कति खस्किएको छ भन्ने देखाउनका लागि एउटा आँकडा पर्याप्त छ । अघिल्लो वर्ष उनीहरूले विश्वकीर्तिमानको बराबरी गर्दै ७३ खेलमा लगातार गोल गरेका थिए भने यस सीजनमा उनीहरूले चारवटा खेलमा गोलै गर्न सकेका छैनन् । 

रियालले रोनाल्डोलाई नराम्ररी मिस गरिरहेको भनी कुरा झिक्दा यही हप्ता इस्को रिसाउँदै पड्केका थिए, ‘यहाँ बस्न नचाहने व्यक्तिका लागि हामी रोएर बस्दैनौं ।’ तर तथ्यहरूले आफैं कथा बताउँछन् । रोनाल्डो हिँडेपछि रियालले विपक्षीलाई गोलमार्फत तर्साउनै सकेको छैन । 

इस्को भर्खरै एपेन्डिसाइटिसको अपरेसन गरेर फर्किएकाले फर्ममा नहुनु स्वाभाविक हो तर उनका साथी खेलाडीले आफ्नो खेलमा निकै सुधार नगरेमा अझै आँसु चुहाउनुपर्ने हुन्छ ।

उता बार्साका बोस अर्नेस्टो भाल्भेर्देलाई मेस्सी घाइते भएर गुमाउनुपर्दा उनको क्षतिपूर्ति कसरी गर्ने भनी सोधिँदा उनले ‘मलाई थाहा छैन’ भने । 

मेस्सीसँग सफल सम्बन्ध बनाएका फुलब्याक जोर्डी अल्बा पनि निराश देखिए । उनले भने, ‘मेस्सीलाई कसैले पनि रिप्लेस गर्न सक्दैन । उनी विश्वकै महानतम खेलाडी हुन् ।’ तर अल्पकालका लागि बार्साले मेस्सीको रिप्लेसमेन्ट खोज्नैपर्ने भएको छ । त्यसो त भाल्भेर्देसँग प्रशस्त विकल्प रहेका छन् । 

पहिलो विकल्प त उस्मान देम्बेले नै हुन् । अघिल्लो सीजनको शुरूआतमा नेयमार हिँडेपछि यी तीव्र गतिका विंगरलाई बोरुसिया डोर्टमन्डबाट ठूलै रकममा भित्र्याइएको थियो । 

तर देम्बेलेले क्लबका लागि नियमित रूपमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । यी फ्रान्सेली खेलाडी कहिलेकाहीँ तीनजना विपक्षी खेलाडीलाई झुक्याएर बल दौडाउँछन् भने कहिलेकाहीँ बल पाउनेबित्तिकै भद्दा तवरले पोजेजन गुमाउँछन् । अनि मज्जाले दौडिएर गोलपोस्टसम्म पुग्ने तर रद्दी क्रस दिने वा गोलपोस्टमाथिबाट बल उडाउने काम गरेकाले देम्बेलेलाई लुइस सुआरेजले बारम्बार गाली गर्ने गरेका छन् । 

देम्बेलेको कमजोरीलाई विचार गर्दा राम्रो विकल्पका रूपमा सर्जी रोबेर्टोलाई अलि अगाडिको भूमिका दिनु उपयुक्त हुन्छ । सन् २०१५ मा मेस्सीले क्लासिकोमा खेल्न नपाउँदा रोबर्टोलाई त्यो भूमिका दिइएको थियो । त्यतिखेर त्यो विकल्पले काम गरेको थियो । रोबर्टोले बेर्नाबेउमा भएको त्यो खेलमा सुआरेजलाई गोल गर्नका लागि असिस्ट गरेका थिए र उक्त खेलमा बार्सा ४–० ले विजयी भएको थियो । 

भाल्भेर्देले ब्राजिली विंगर माल्कमलाई पनि प्रयोग गर्न सक्छन् । बोर्डो क्लबबाट ल्याइएका माल्कमलाई बार्सिलोनामा खासै खेलाइएकै छैन । उनले सब्स्टिच्युटका रूपमा आएर जम्मा दुई खेल खेलेका छन् । 

अर्का सम्भावित खेलाडी मिडफील्डर राफिन्हा हुन् । उनले यस सीजनमा जम्मा दुई खेलमा शुरूबाट खेलेका छन् । बुधवार इन्टर मिलानविरुद्धको जीतमा उनले गोल पनि गरे । 

आर्टुरो भिडाललाई मिडफील्डको सेन्टर बलियो बनाउनका लागि पनि भाल्भेर्देले अवसर दिन सक्छन् । बायर्न म्युनिखबाट आएदेखि आफूले राम्ररी खेल्नै नपाएको भनी सामाजिक सञ्जालमा असन्तुष्टि जनाएपछि भिडाल समस्यामा परेका थिए । अनि बार्सिलोनाले परम्परागत ४–४–२ को फर्मेसनमा खेल्ने विकल्प पनि छ जसमा सुआरेजले युवा स्ट्राइकर मुनिर एल हदादीसँग आक्रमणको साझेदारी गर्न सक्छन् । 

त्यसैले मेस्सीको अनुपस्थितिमा पनि बार्सासँग प्रशस्तै समाधानहरू छन् तर ती कुनै पनि कन्भिन्सिङ लाग्दैनन् । 

मेस्सीको ठाउँमा जसले खेलेपनि उनको अनुपस्थितिले रियालका लेफ्टब्याक मार्सेलोलाई चाहिँ असर पार्ने देखिन्छ । 

यो क्लासिकोमा मार्सेलोले मेस्सीलाई मार्क गर्ने बोझ बोक्नुपर्ने छैन । त्यसैले उनले आफ्नो प्राकृतिक खेल खेल्ने स्वतन्त्रता पाउनेछन् र यसले रियाल मड्रिडको आक्रामक खेललाई सहायता पुग्नेछ । 

तर मार्सेलोले पिचमा हाई पुश गर्न मन पराउने भएकाले बार्साले त्यसलाई सदुपयोग गर्न सक्छ । भाल्भेर्देले आक्रामक रणनीति अपनाए भने मार्सेलोले बनाउने ग्यापलाई उपयोग गर्न देम्बेलेको पेस उपयुक्त ठहर्छ ।

जे भएपनि मेस्सीको अनुपस्थितिलाई जुन टीमले राम्रोसँग सम्हाल्छ, उसैले जित्ने सम्भावना बढी देखिन्छ । 

बीबीसीमा प्रकाशित एन्डी वेस्टको विश्लेषण

salt training

कमेन्ट गर्नुहोस्