
काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेडले १ हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ताले हुन आउने ४ अर्ब बराबरको ‘११५ एनआईसी एसिया ऋणपत्र २०८५/८६’ निष्कासनको निमित्त नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।
बैंकले जारी गरेको १ अर्ब ८३ करोड रुपैयाँको ‘११५ एनआईसी एसिया ऋणपत्र २०८२/८३’ सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ । प्रस्तावित ११ प्रतिशत व्याज भएको ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ ।
ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया बैंक लिमिटेडका तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपिराज पन्तद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (३ अर्ब २० करोड रुपैयाँ) व्यक्तिगत र २० प्रतिशत (८० करोड रुपैयाँ) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्कासन तथा बिक्री खुला गरिने छ ।
प्रस्तावित ऋणपत्र ११ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्कासन गर्न लागिएकोे बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।