
काठमाडौं– केन्द्र सरकारको आश्वासनपछि प्रदेश २ सरकारले तीन विधेयक अगाडि नबढाउने भएको छ । प्रधानमन्त्री कार्यालयको आश्वासनपछि प्रदेश २ सरकारले कर्मचारी नियुक्ति र खटनपटनसँग सम्बन्धित तीन विधेयक अगाडि नबढाउने निर्णय गरेको हो ।
लोकसेवा, निजामती कर्मचारी र प्रशासनसँग सम्बन्धित ३ विधेयकमा सैद्धान्तिक सहमति दिन शुक्रबार साँझ बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि विधेयक अगाडि नबढाउने निर्णय गरेको हो । संघीय सरकारको आग्रहमा तीनवटै विधेयक एक महिना रोक्ने निर्णय भएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।
प्रधानमन्त्री कार्यालयले मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई एक महिनाभित्र संघीय प्रहरी ऐन, लोकसेवा विधेयक र निजामती प्रशासन विधेयक अध्यादेशमार्फत वा मन्त्रिपरिषद्बाट पास गराउने आश्वासन दिएको छ । प्रधानमन्त्री कार्यालयले प्रदेश २ मा आवश्यक सबै कर्मचारी पठाउन पहल शुरु भइसकेकाले त्यससँग सम्बन्धित विधेयक रोक्न भनेको छ ।
बैठकले जनकपुर चुरोट कारखाना रहेको भवनको नाम परिवर्तन गरेर मधेस भवन राख्ने निर्णय गरेको छ । रामजानकी विवाह पञ्चमीलाई भव्यताका साथ सम्पन्न गर्न ५० लाख रुपैयाँ खर्च गर्ने निर्णय समेत गरेको छ ।
नेकपालाई आधिकारिता
निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई आधिकारिता प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको इजलाशबाट नामसम्बन्धी विवादको फैसला गर्दै सो निर्णय गरेको हो ।
‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’ को दफा ४ को उपदफा २ ले ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानूनअनुसार आयोगमा दर्ता रहेका दल दर्ता हुन पर्ने छैन र त्यस्ता दल सोही ऐनबमोजिम दर्ता भएको मानिने कानूनी प्रावधान रहेको उल्लेख गर्दै आयोगले कानूनबमोजिम दर्ता भएका दलको पुनः दर्ता हुनुनपर्ने आयोगले स्पष्ट पारेको छ ।
आयोगमा दर्ता भएको मूल नाम नेपाल कम्युनिष्ट पार्टी मूल नाम भई अन्य पहिचान खुलाएका सात वटै दल कानूनअनुसार नै रहेको आयोगको ठहर छ । आयोगले ऋषि कट्टेलका तर्फबाट दर्ता भएको आवेदन खारेज गरेको छ ।
२५ कर्मचारीविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहाचलका तत्कालीन २५ कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १८४ महिलालाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरेको पाइएपछि आयोगले उनीहरू विरुद्ध आरोपत्र दायर गरेको हो ।
नक्कली कागजात बनाई श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहाचलमा कार्यरत कर्मचारीविरुद्ध आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । विचौलियाको मिलेमतोमा विनाप्रवेशाज्ञा एवं गलत कागजातमा श्रम स्वीकृति (स्टिकर) प्रदान गरेको भन्ने उजुरीका आधारमा आयोगले २०७४ भदौ ९ देखि कात्तिक ८ गतेसम्म उक्त कार्यालयबाट प्रदान गरिएको श्रम स्वीकृतिलगायतको विवरण अनुसन्धान गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि ती कर्मचारीको भूमिका शङ्कास्पद देखिएको भन्दै मन्त्रालयले उनीहरूलाई अन्यत्रै सरुवा गरेको थियो ।
दुई वर्षमा सबै गरीब पहिचान गरिने
सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य लिएसँगै थप ५१ जिल्लामा गरीब पहिचान गर्ने भएको छ । गरीब घरपरिवारको पहिचान गरेर परिचयपत्र वितरण गर्ने र व्यावसायिक परियोजनामार्फत उनीहरूलाई सामाजिक सशक्तीकरण गर्ने उद्देश्य राखिएको छ ।
जनताको जीवनस्तरमा सुधार ल्याई सरकारले मुलुकमा गरीबी निवारण गर्ने लक्ष्य रहेको उक्त कार्यक्रम दुई वर्षभित्र सम्पन्न गरिने भूमि व्यवस्था तथ सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए । चालू आवमा रु ६३ करोड विनियोजन गरिएको छ भने आगामी वर्षमा आवश्यकताअनुसार लगानी वृद्धि गरिने छ । यसअघि सर्भेक्षण गरिएका देशका २६ जिल्लाबाहेकका स्थानमा सर्भेक्षण गर्न लागिएको हो ।
खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।
गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै खड्काका तर्फबाट दुर्गाप्रसाद जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । सोही निवेदनको सुनुवाइपछि खड्कालाई थुनामुक्त गर्न आदेश जारी भएको हो ।
आयोगले पदपूर्तिको कार्यतालिका सार्यो
सरकारको विभिन्न निकायमा रिक्त पदको पदपूर्तिका लागि लोकसेवा आयोगले आर्थिक वर्ष २०७५÷०७६ का लागि तय गरेको वार्षिक कार्यतालिका परिवर्तन गरेको छ । सरकारको आग्रहमा कार्यतालिका दुई महीना पर सार्ने गरी परिवर्तन गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।
सरकारले समायोजन गर्ने भनेपछि रिक्त पदको विवरणसमेत आयोगलाई पठाएको थिएन । आयोगले हरेक वर्ष साउन महीना पदपूर्तिका लागि कार्यतालिका निकाल्ने गर्दथ्यो । नयाँ कार्यतालिका अनुसार सहसचिव, उपसचिव, शाखा अधिकृत स्वास्थ्य सेवा सबै तहको रिक्त पदको पदपूर्तिका लागि एकै पटक मङ्सिर महीनाको अन्तिम बुधबार प्रकाशित गर्ने भएको छ ।
नयाँ कार्यतालिका अनुसार नायब सुब्बा र खरदार तहको पदपूर्तिको विज्ञापन भने पहिल्यैकै समयमा हुने उपसचिव सुवेदीले जानकारी दिए । पुरानो कार्यतालिका अनुसार असोज ३१ गतेबाट आयोगले सरकारी निकायका विभिन्न पदका लागि विज्ञापन गर्ने तयारी गरेको थियो ।
सञ्चार नीति सार्वजनिक
प्रदेश नं ५ को सरकारले प्रदेशको सञ्चार नीति २०७५ आज सार्वजनिक गरेको छ । नागरिकको सुुसूचित हुन र अभिव्यक्त गर्न पाउनेसम्बन्धी हकअधिकार संरक्षण गर्ने र सञ्चारमाध्यम तथा सञ्चारकर्मीको स्वतन्त्रताको संरक्षण गर्ने व्यवस्था मिलाउन सञ्चार नीतिले मुख्य लक्ष्य लिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा सञ्चालनमा ल्याइएको सूचना केन्द्रले सूचना केन्द्रमा अहिले विपद्, शान्ति सुरक्षा, आकस्मिक घटना र जनताका सुझाव तथा गुनासो गरी चार वटा विषयसँग सम्बन्धित डेस्क स्थापना गरेको छ ।
नियमन गर्न समिति गठन
सरकारले नदी जन्य पर्दाथको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्न अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ ।
मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालका अनुसार जथाभावी उत्खनन र बिक्री भएकाले नियन्त्रण गर्नका लागि समिति गठन गरिएको हो । समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खननका सम्बन्धमा स्थानीय तहलाई आवश्यक निर्देशन दिनसक्ने छ ।
नेपालद्वारा भारत पराजित
एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा शुक्रबार सम्पन्न खेलमा भारतलाई २–० गोलले पराजित गरेको हो ।
पहिलो हाल बराबरीमा सकिए पनि दोस्रो हाफमा नेपालले दुई गोल गर्न सफल भयो । नेपालका लागि रेखा पौडेलले खेलको ५९ आँै मिनेटमा गोल गरिन् । त्यसैगरी खेल सकिन दुई मिनेट बाँकी हुँदा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।
जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोडन सफल भएको छ । कात्तिक ११ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । नेपालले समूह चरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग खेल्नेछ ।
क्रिकेटको विश्वकप ट्रफी नेपालमा
इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । संयुक्त अरब इमिरेट्स (युएइ)बाट विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइएको हो ।
सोमबारसम्म नेपालमा राखिने उक्त ट्रफी हिजो साँझ स्वयम्भूमा लगेर सार्वजनिक गरिएको छ । स्वयम्भूमा गरिएको प्रदर्शनीमा क्रिकेटका समर्थकको बाक्लो उपस्थिति थियो । आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलेका अनुसार शनिबार बिहान ट्रफी पोखरा क्रिकेट रङ्गशाला लगिनेछ । शनिबार बेलुकी पोखराबाट पुनः काठमाडौँ ल्याइ कात्तिक ११ गते चन्द्रागिरि लगेर प्रदर्शनीमा सञ्चारकर्मीलाई तस्बीर खिच्न दिइने छ ।
सोही दिन वसन्तपुर दरबार क्षेत्रमा राखी क्रिकेट समर्थक र सर्वसाधारणलाई ट्रफीसँग तस्बीर खिच्न दिइनेछ । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा सो ट्रफी यहाँ ल्याइएको बताइएको छ ।