
काठमाडौं– २०७५ सालको ६ महिना बितिसकेको छ । यो छ महिना सकिन लाग्दा ʻछक्का पञ्जा ३ʼ प्रदर्शनमा नआएको भए चार महिनापछि गर्माएको चलचित्र बजार पुनः चिस्सिएको हुन्थ्यो ।
यस अवधिमा बैशाखदेखि साउनसम्म चलचित्र बजार सुस्तायो नै । सुस्ताएको त्यो बजारलाई भदौंमा प्रदर्शनमा आएका चलचित्र ‘नाई नभन्नु ल ५’ र ʻरामकहानीʼले केही उकास्ने काम गरे । उकासिएको त्यो बजारलाई यथावत मात्र होइन् त्यसको आयतनलाई अझ बढाउने काम गर्यो ʻछक्का पञ्जा ३ʼले । हुनत ʻछक्का पञ्जा ३ʼ पछि असोज ३० गतेबाट प्रदर्शनमा आएको ʻजय भोलेʼलाई पनि दर्शकले रुचाएका छन् । तर हलमा अहिलेसम्म पनि ʻछक्का पञ्जा ३ʼ कै बढी बर्चश्व छ ।
असोजमै प्रदर्शनमा आएको ‘इन्टु मिन्टु लण्डनमा’को ब्यापार पनि सन्तोषजनक नै रह्यो । त्यसअघिका बोबी, कायरा, भैरे, रोज जस्ता चलचित्रले औसत पनि औषत ब्यापार गरेको वितरकहरुको दाबी छ । तर यी चलचित्रलाई एकपटक छाडेर हेरौं त !
बैशाखदेखि असोजसम्म झण्डै ५५ चलचित्र प्रदर्शनमा आए । तर अधिकाँश चलचित्रको लगानी वालुवामा पानी सरह भयो । ६ महिनामा ४ दर्जन बढी चलचित्रको लगानी डुब्यो ।
बैशाख महिनामा प्रदर्शनमा आएका १० वटै चलचित्रको लगानी डुब्यो । त्यस्तै जेठमा ८, असारमा ८, साउनमा प्रदर्शनमा आएका ११ चलचित्रले पनि बजार पिटन सकेनन् । भदौमा १० र असोजमा ८ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । यी दुई महिना चलचित्र क्षेत्रका लागि अन्य महिनाभन्दा फलदायी रहे ।
ʻक्वान्टिटी होइन्, क्वालिटीमा समस्याʼ
नेपालमा एक वर्षमा १ सय बढी नेपाल चलचित्र प्रदर्शनमा आउने गरेका छन् । जुन कुरा ६ महिना बित्दा ५५ चलचित्र प्रदर्शनमा आउनुले पनि पुष्टि गर्छ ।
नेपालमा बजारअनुसार धेरै चलचित्र प्रदर्शनमा आउनु समस्या रहेको बेलाबेलामा चर्चा हुने गरेपनि समस्या संख्यामा नभई गुणस्तरमा रहेको सरोकारवालाहरु बताउँछन् । ʻधेरै चलचित्र भन्दा नि राम्रो चलचित्र प्रदर्शनमा नआउनु समस्या होʼ स्क्रिप्ट राइटर तथा चलचित्र समीक्षक सामीप्यराज तिमिल्सिना भन्छन् ʻराम्रो चलचित्र बने त दर्शकले हेर्छन् नि, जुन कुरा बजारले पनि देखाइरहेको छ ।ʼ
बजारबाट कुन सामान किन्ने रोज्न पाउनु ग्राहकको अधिकार हो । ʻचलचित्र क्षेत्रमा पनि छनोट गरेर चलचित्र हेर्न पाउनु दर्शकको अधिकार होʼउनी भन्छन् ʻराम्रो चलचित्र बनाउनु निर्माता, निर्देशकको दायित्व हो ।ʼ
उनी नेपाली चलचित्रमा मेकिङ, बजार आदीका कुरामा क्रमश सुधार आएपनि निर्माता तथा निर्देशकहरु अझपनि गम्भीर बन्न नसकेको बताउँछन् । उनका अनुसार अपवाद बाहेक प्रायः निर्माता तथा निर्देशकहरु कथा, पटकथामा गम्भीर देखिँँदैनन् । कथामा मेहनत नपुगेको उनको तर्क छ । ʻपहिले भन्दा अहिले केही गम्भिर त बनेका छन् तर त्यतिले मात्र पुग्दैन्ʼ– उनी भन्छन् ।
यता तिमिल्सिनाको विचारमा सहमत जनाउँछन् सञ्चारकर्मी, स्क्रिप्ट राइटर तथा उद्घोषक नरेश भट्टराई । भन्छन् ʻपछिल्लो समय नेपाली चलचित्रले धेरै कुरामा फड्को मारेपनि हतारिएर चलचित्र बनाउने परिपाटी यथावत छ । जसले गर्दा अधिकाँश चलचित्र अब्बल बन्नबाट चुकिरहेका छन् ।ʼ
अहिले एउटै चलचित्रले १५÷१६ करोड कमाएको छ । मल्टिप्लेक्स हलहरुको बाढी आएको छ । पहिले नेपाली चलचित्र भनेपछि नाँक खुम्च्याउनेहरु अहिले परिवारसहित हलमा पुगेर हेर्ने बानीको विकास हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । नरेश यी कुरालाई नेपाली चलचित्रको विकास भएको बताउँछन् । उनी एउटा धारको चलचित्र बन्यो भने त्यसैको नक्कल गर्ने, स्क्रिप्टमा ध्यान नदिने परिपाटी गलत भएको बताउँछन् ।
प्रदर्शनमा आउने प्राय चलचित्र कम्तिमा पनि एभरेज स्तरको बनाउन सक्नेहो भने दर्शकले हेर्ने उनको ठम्याई छ ।
बजारमा के चलिरहेको छ? दर्शकले कस्तो चलचित्र रुचाउँछन्? त्यसको अध्ययन नगरी चलचित्र निर्माण गरिँदा निर्माताको लगानि डुब्दै गएको निर्देशक तथा कलाकार दीपाश्री निरौला तर्क गर्छिन् । धेरै चलचित्र प्रदर्शनमा आउँनु समस्या भन्दा पनि राम्रो नबन्नु नै समस्या हो । राम्रो चलचित्र त चलिरहेकै छन् । ʻहामीले ʻछक्का पञ्जा ३ʼलाई दर्शकको चलचित्र बनाउँन सक्यौँ र सबैले रुचाउनुभयोʼ–उनले भनिन् ।
यता निर्माता माधव वाग्ले निर्माता चलचित्रसम्बन्धी जानकारी नलिई, चलचित्र बजारको अध्ययन नगरी, बजारबाट प्राप्त हुने प्रतिफलको अध्ययन नगरी चलचित्र निर्माण गर्दा लगानी डुब्दै गएको बताउँछन् । उनको चलचित्र ʻचङगा चेटʼ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्र क्षेत्रबारे नबुझेका ब्यक्तिलाई ʻमुर्गाʼ बनाएर आफू निर्देशक बन्ने परिपाटीले पनि स्तरीय चलचित्र निर्माण हुन नसकेको बाग्ले बताउँछन् । मेकिङमा स्तरीयता, कलाकारहरुको पारिश्रमीकमा सुधार, नयाँ मल्टिप्लेक्स हलहरुको उदय, प्रदर्शनमा आएकामध्ये केही चलचित्रको आकर्षण ब्यापार गरेपनि ʻमुर्गाʼ निर्माता खोजेर चलचित्र निर्माण गर्ने, कथा, पटकथा र संवादमा गम्भीर नहुने जस्ता कारण एकपछि अर्को चलचित्रहरु डुब्दै गएका छन् । यसतर्फ चलचित्रसंग सरोकारवाला व्यक्तिहरु गम्भीर बन्नुपर्ने देखिन्छ ।