१५ असार २०८३, सोमबार

लुम्बिनीका लागि आएको बस काठमाडौं ल्याएपछि प्रदेश ५ मा विरोध– 'जेटबा! बिजुली बस फिर्ता गर'

बस काठमाडौंमा, लुम्बिनीमा बन्दै चार्जिङ स्टेसन
कात्तिक ११, २०७५
लुम्बिनीका लागि आएको बस काठमाडौं ल्याएपछि प्रदेश ५ मा विरोध– 'जेटबा! बिजुली बस फिर्ता गर'

बुटवल – 'हेलो जेटबा ! काठमाडौंमा मेट्रो रेल उद्घाटन गर्ने बेला किन लुम्बिनीका लागि आएका बस काठमाडौंमा उद्घाटन गरेको ? लुम्बिनीका बस लुम्बिनी फिर्ता गर्ने व्यवस्था मिलाइबक्सियोस्,' पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ।

नयाँ शक्ति, नेपालका नेता मनिकार कार्की फेसबुकमा लेख्छन्, ‘जब सरकार नै जबर्जस्तीमा लाग्छ, अनि सिस्टम र सुशासनको अपेक्षा कसरी हुन्छ ? लुम्बिनीका लागि दिइएका बिजुली बसलाई जबर्जस्ती काठमाडौं पुर्‍याइयो, अनि लर्काे लागेर हास्यास्पद शैलीमा उद्घाटन गरियो । के–के न गरेझैं गरि झ्याली पिटियो । यसैबाट क्लियर हुँदैन र समृद्ध नेपाल अनि सुखी नेपालीको नारामा सरकारी दृष्टिकोण !'

बुटवलकै गोपाल न्यौपाने भन्छन्, ‘हरेक कुरा काठमाडौंमा मात्रै चाहिने भए, अन्य क्षेत्रमा के नै पो आउने भयो । स्वीकार्य छैन यो कदम, स्वीकृति दिनेलाई बहिष्कार गरौं ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी विश्व शान्तिको मुहान लुम्बिनीका लागि ल्याइएको विद्युतीय बस काठमाडौंमा चलाइएपछि रूपन्देही तथा आसपासको क्षेत्रमा यसको व्यापक विरोध भएको छ । 

सामाजिक सञ्जालदेखि चिया चौतारामा जम्मा हुने सर्वसाधारण विद्युतीय बस काठमाडौंमा चलाइएपछि आक्रोशित छन् । यहाँका जनताले विद्युतीय बस लुम्बिनीमै चलाउन माग गरेका छन् । ती बसहरू एसियाली विकास बैंकको अनुदानमा लुम्बिनीमा चलाउन भनी आएका थिए । लुम्बिनीमा हालसम्म कुनै पनि पर्यटकीय बस सञ्चालनमा छैनन् । 

स्तरीय बस नहुँदा दैनिकरूपमा लुम्बिनी आउने हजारौं पर्यटकले सास्ती बेहोनुपर्ने अवस्था छ । लुम्बिनीलाई नै भनेर ल्याइएका बस काठमाडौंमा चलाउनु लुम्बिनीका लागि अपमान भएको संस्कृतिविद् डा. गीतु गिरीले बताए । 
गिरीले लोकान्तरसँग भने, ‘बिजुली बस काठमाडौंमा चलाउने होइन लुम्बिनी नै ल्याउनुपर्छ । यहाँ प्रदूषण बढ्दो छ । त्यसको नियन्त्रणका लागि पनि ती विद्युतीय बस लुम्बिनीमै चल्नुपर्छ ।’

बस काठमाडौं पुगे पनि अनुदानको रकमबाट बन्ने चार्जिङ स्टेसन भने लुम्बिनीमै बन्ने लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनीस्थित पुस्तकालयअगाडि चार्जिङ स्टेसन बनाउने प्रक्रिया अगाडि बढेको विकास कोषका अधिकृत सरोज भट्टराईले जानकारी दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग लुम्बिनीलाई जोड्नका लागि सोलारको माध्यमबाट १ सय ५० केभी विद्युत उत्पादन गरी सोहीबाट चार्जिङ स्टेशन निर्माण गरी गाडी सञ्चालनका लागि अनुदान आएको लुम्बिनी विकास कोषले जनाएको छ ।

एडीबीको रकम एता न उता 

एसियाली विकास बैंकको अनुदानमा करीव २९ करोडको लागतमा पाँचवटा विद्युतीय बस र ११ वटा टयाक्सी सञ्चालन गर्ने गरी अनुदान आएको लुम्बिनी विकास कोषका योजना अधिकृत सरोज भट्टराईले बताए ।

एसियाली विकास बैंकले लुम्बिनीदेखि भैरहवा विमानस्थलसम्म विधुतीय बस सेवा सञ्चालन गर्ने गरी अनुदान स्वरूप रकम दिएको थियो । बस काठमाडौं पुगेपछि एसियाली विकास बैंकको लगानी एता न उता भएको छ । उक्त रकममा शुरूवातदेखिनै केन्द्र सरकारले आँखा लगाएको थियो । 

२९ करोडमध्ये १३ करोड गाडी र ट्याक्सी खरिदमा प्रयोग भएको छ भने बाँकी रकम लुम्बिनीमा १३० भन्दा बढी विद्युतीय रिक्सा र हाल खरिद गरिएका बस र ट्याक्सी चार्जका लागि स्टेसन बनाउन खर्च गरिने योजना अधिकृत भट्राईले लोकान्तरलाई जानकारी दिए । 

साझा यातायातले लुम्बिनीलाई नै केन्द्रित गरी नेपाल आएका बिजुली बस चलाउनुपर्ने भट्टराईले बताए । एसियाली विकास बैंकको सहयोगमा भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । जसको फलस्वरूप हाल आयात गरिएका सवारी साधनहरू खरिद प्रक्रियामा समेत लुम्बिनी विकास कोषलाई सहभागी गराइएको छैन । कोषलाई जानकारी मात्र गराएर सम्पूर्ण काम मन्त्रालयबाटै भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषका लागि आएको अनुदानको रकम केन्द्रबाट गाडी खरिद प्रक्रिया हुनु र एउटा गाडीको मूल्य पौने दुई करोडसम्म पर्नु अध्ययनको विषय भएको यातायात क्षेत्रका जानकारहरू बताउँछन् । 

खरिद गरिएको गाडीको मूल्य पौने दुई करोड र ट्याक्सीको मूल्य चालिस लाख रुपैयाँ रहेको लुम्बिनी बिकास कोषले जनाएको छ । गाडीमा २० सिट क्षमता छन् भने ट्याक्सीमा सात सिट संख्या रहनेछ ।

लुम्बिनीमा अनुदानका लागि आएको रकमबाट खरिद गरिएको बिजुली बसको मूल्य पौने दुई करोड छ । गाडीमा सिट संख्या बीस छ । बीस सिट संख्या भएको गाडी सञ्चालन गरेर यातायात व्यावसायीले काम गर्ने अवस्था आउँदैन । लगानीको ब्याज, कर्मचारीलाई तलब भत्ता आदिका कारण ती बसहरू व्यावसायिक प्रयोजनमा ल्याउन कठिन भएको सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारु बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्