काठमाडौं — भारतका लागि फ्रान्सका राजदूत अलेक्स आन्द्रे जिएगलेरले जैन सन्त आचार्य विद्यासागरको शाकाहार सिद्धान्तलाई अपनाउँदै शाकाहारी बन्ने वचन दिएका छन् ।
अलेक्स बिहीवार आफ्नी पत्नी र दुई छोरीका साथ मध्य प्रदेशको खजुराहो पुगे । जैन आचार्य विद्यासागर खजुराहोमा चतुर्मासमा बसेका छन् ।
त्यहाँ राजदूतले अनेकौं चर्चित मन्दिरमा दर्शन गरे । त्यस क्रममा फ्रान्सेली राजदूतले जैन आचार्यसँग भेटघाट गर्ने इच्छा व्यक्त गरे । आश्रम पुगेपछि आन्द्रे परिवारसँग भुइँमा बसे र २० मिनेटसम्म आचार्यका उपदेश सुने ।
जैन समूहका प्रवक्ता डा सुमित सागरले बताए, ‘राजदूतले जैन मुनिसँग कुराकानीका क्रममा शाकाहारको पनि कुरा झिके । फ्रान्समा पनि शाकाहारको प्रचलन तीव्र गतिमा बढिरहेको छ । म पनि आचार्यजीको आशीर्वाद पाएर शाकाहारी बनेको छु ।’
एजेन्सी