०२ साउन २०८३, शनिबार

लोपेतेगीका पिता भन्छन्, रोनाल्डोलाई बेचेर मेरो छोराबाट ५० गोल चोरे उनीहरूले

कात्तिक १३, २०७५
लोपेतेगीका पिता भन्छन्, रोनाल्डोलाई बेचेर मेरो छोराबाट ५० गोल चोरे उनीहरूले

काठमाडौं — रियाल मड्रिड फूटबल क्लबले सोमवार बर्खास्त गरेका प्रशिक्षक युलेन लोपेतेगीका पिता जोसे एन्टोनियोले क्रिस्टियानो रोनाल्डोलाई बेचेका कारण आफ्नो छोराले संघर्ष गर्नुपरेको बताएका छन् । 

जुन महिनामा लोपेतेगीलाई लोस ब्लान्कोस भनी चिनिने रियाल मड्रिडको व्यवस्थापक नियुक्त गरिएको थियो । क्लबका लेजेन्ड खेलाडी तथा प्रशिक्षक जिनेदिन जिदानले लगातार तेस्रोपटक क्लबलाई च्याम्पियन्स लीग दिलाएपछि
राजीनामा दिएर खाली भएको ठाउँमा लोपेतेगीलाई ल्याइएको थियो । 

यी ५२ वर्षीय प्रशिक्षकले शुरूआत त राम्रै गरेका हुन् तर अक्टोबर ६ मा आलाभेससँग हारेपछि टीमले दिशा गुमाउन थाल्यो र त्यसपछि लगातार खराब प्रदर्शन गर्दै आइरहेको छ । 

सबै प्रतियोगितामा गरी रियालले विगत सात खेलमध्ये एउटामा मात्र जीत हासिल गरेको छ । आइतवार बार्सिलोनासँग ५–१ गोलले हारेपछि उनीहरू ला लिगामा बार्साभन्दा सात अंक पछाडि परेका छन् । 

एल मुन्दोसँगको एक अन्तर्वार्तामा जोसे एन्टोनियोले छोराको बचाउ गर्दै रोनाल्डोलाई बेचेपछि उनको ठाउँमा गतिलो खेलाडी ल्याउन नसक्दा लोपेतेगीले साह्रै कठिन उकालो चढ्नुपरेको बताए । 

‘क्रिस्टियानो रोनाल्डो गजबका थिए । उनी घमण्डी थिए रे ? अब हामी सबैजनामा केही न केही कमजोरी त भइहाल्छ नि । तर उनी एकै सीजनमा ५० गोल गरिदिन्थे । क्लबले उनलाई मिस गरिरहेको छ । टन्न गोल गर्ने खेलाडी मिस
भइरहेको छ । उनीहरूले एउटा पनि गतिलो खेलाडी किनेनन् । नेयरमारको कुरा चलेको थियो तर कोही पनि आएन । उनीहरूले मेरो छोराबाट ५० गोल चोरे ।’

लोपेतेगीका बुवाले रोनाल्डोलाई बेच्नु मात्र मड्रिडको असफलताको कारण नभएको तर उनको छोराको प्रदर्शनलाई मूल्यांकन गर्दा यो महत्त्वपूर्ण कारण रहेको बताए । 

क्याम्प नाओमा बेइज्जतीपूर्ण हारपछि रियाल मड्रिडले यस सीजनमा १४ गोल खाएको छ र त्यति नै गोल गरेको छ । सन् १९४७ पछि सीजनको यो चरणमा रियालले राम्रो गोल डिफरेन्स ल्याउन नसकेको पहिलोपटक हो । 

अब लोस ब्लान्कोसको अर्को खेल कोपा देल रेमा मेलिलाविरुद्ध बुधवार हुनेछ भने आफ्नै गृहमैदानमा शनिवार भायादोलिदविरुद्ध हुनेछ ।

गोल डट्कमबाट

salt training

कमेन्ट गर्नुहोस्