
काठमाडौं — लन्डनको एक स्टोरमा राखिएको एक स्यान्डलको सुरक्षाका लागि गोमन सर्प राखिएको कुरा एउटा नयाँ डकुमेन्ट्रीमा बताइएको छ ।
सन् २००७ मा बेलायतको लन्डनमा रहेको ह्यारोड्स स्टोरमा रुबी जडिएको स्यान्डललाई गोमन सर्पले सुरक्षा दिएको हो ।
स्टोरका पूर्व सुरक्षागार्ड त्यतिखेरको कुरा याद गर्दै त्यो असाधारण अनुभव रहेको बताउँछन् । उनका अनुसार, त्यो स्यान्डल स्टोरको सबभन्दा महंगो वस्तु थियो ।
रुबी जडिएको स्यान्डलको मूल्य पाँच लाख पाउन्ड अर्थात् लगभग आठ करोड रुपैयाँ थियो ।
त्यसबाहेक अन्य महंगा कुरा पनि त्यहाँ थिए र धनीहरू त्यहाँ सामान किन्न आउँथे ।
लन्डनको यो स्टोर धनीहरूमाझ लोकप्रिय छ । सन् १८४९ मा शुरू गरिएको ह्यारोड्समा ३३० रिटेल स्टोर छन् जहाँ १२ हजारभन्दा बढी मानिस काम गर्छन् । यहाँ डेढ करोडभन्दा बढी मान्छे हरेक वर्ष गरगहना किन्न आउँछन् ।
एजेन्सी