
काठमाडौं — मानवहरूका कारण सन् १९७० देखि ६० प्रतिशत स्तनधारी, चरा, माछा र सरीसृप लोप भएको अध्ययनले देखाएको छ । विश्वका अग्रणी विज्ञहरूले वन्यजन्तुको विनाश संकटकालीन स्थितिका रूपमा रहेको र यसले सभ्यतालाई नै धरापमा पारेको बताएका छन् ।
वन्यजन्तुको सामूहिक हत्याको नयाँ अनुमान वर्ल्ड वाइल्डलाइफ फन्डले सार्वजनिक गरेको एक प्रतिवेदनमा गरिएको छ । प्रतिवेदन तयार पार्न विश्वभरिका ५९ वैज्ञानिक संलग्न थिए ।
विश्वव्यापी जनसंख्याले खाना र प्राकृतिक स्रोतको उपभोगका कारण जीवन सञ्जालको विनाश भएको र यो सञ्जाल अर्बौं वर्ष लगाएर बनाइएको अनि यसबाटै स्वच्छ हावा, पानी र अरू सबै कुरा प्राप्त हुने प्रतिवेदनले उल्लेख गरेको छ ।
‘हामीहरू भीरको छेउतर्फ निद्रामा हिँडिरहेका छौं,’ डब्ल्यूडब्ल्यूएफमा विज्ञान तथा संरक्षणका कार्यकारी निर्देशक माइक ब्यारेटले बताए । ‘जनावरकै अनुपातमा जनसंख्या ६० प्रतिशतले घट्ने हो भने उत्तर अमेरिका, दक्षिण अमेरिका,
अफ्रिका, युरोप, चीन र ओसेनिया क्षेत्रको जनसंख्या रित्तो भएबराबर हुन्छ । हामीहरूले गरेको विनाशको स्केल यति ठूलो छ ।’
हालै प्रकाशित अन्य विश्लेषणहरूले मानवजातिले सभ्यताको शुरूआतदेखि सबै स्तनधारीमध्ये ८३ प्रतिशत र आधी बोटबिरुवा विनाश गरेको र यो विनाश शृंखलालाई रोकेपनि प्राकृतिक विश्वलाई पहिलेकै अवस्थामा ल्याउन ५० देखि
७० लाख वर्ष लाग्ने देखाएका छन् ।
द गार्डियनबाट