
काठमाडौं– दुर्घटना बढेको भन्दै काठमाडौं उपत्यकामा दिउँसो चल्न राेक लगाइका मालवाहक सवारीका साधन टिप्पर अब दिउँसो पनि काठमाडौंका सडकमा गुड्न पाउने भएका छन् ।
प्रतिघन्टा ३५ किलोमिटरको गतिमा मंगलवारदेखि लागू हुने गरी दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिप्पर चलाउने अनुमति दिइएको हो ।
काठमाडौं उपत्यकामा भइरहेको निर्माण कार्यका लागि निर्माण सामग्रीको आपूर्तिमा प्रभाव परेको भन्दै दिउँसो पनि टिप्पर चलाउने अनुमति दिने निर्णय भएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार टिप्पर चलाउनका लागि चालकको लाइसेन्स र बिलबुकको प्रतिलिपि जिल्ला प्रशासन कार्यालयमा बुझाएर मागका अनुसार दिउँसो ११ देखि ३ बजेसम्म टिप्पर चलाउन दिने निर्णय भएको हो ।
टिप्परका कारण सवारी दुर्घटना बढेको भन्दै सरकारले काठमाडौं उपत्यकामा राति ९ बजेदेखि विहान ६ बजेसम्म मात्रै चल्न दिने निर्णय गरेको थियो । केही समय अगाडि मात्रै स्थानीय प्रशासनले साँझ ७ देखि विहान ७ बजेसम्म चलाउन दिने निर्णय गरेको थियो ।