२४ जेठ २०८३, आइतबार

अस्पतालबाट प्रधानमन्त्री ओलीको भावुक सन्देश, १७ वर्षपछि कंगो शान्ति मिसनमा खटिँदै नेपाल प्रहरी

कात्तिक १४, २०७५
अस्पतालबाट प्रधानमन्त्री ओलीको भावुक सन्देश, १७ वर्षपछि कंगो शान्ति मिसनमा खटिँदै नेपाल प्रहरी

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । 

उपचारकै क्रममा रहेको बेला ओलीले अस्पतालबाटै एक भावुक सन्देश दिँद आफू चाँडै काममा फर्कने र समृद्ध नेपालको सपना सकार पार्न सक्रिय रहने बताएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजन्जमा उपचाररत प्रधानमन्त्री ओलीले मंगलवार एक सन्देश जारी गर्दै भनेका छन्–चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ।’

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह पनि गरेका छन् । 

ओलीलाई भेट्न प्रतिवन्ध
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पतालले प्रतिबन्ध लगाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई भेट्न तथा उनको स्वास्थ्य लाभको कामना गर्न चाहने शुभचिन्तकहरुको आकांक्षलाई अस्पतालले आत्मासात गरेपनि अस्पतालको पहिलो दायित्व प्रधानमन्त्रीको स्वास्थ्यलाभ गराउनुभएकाले भेटघाटलाई प्रतिबन्ध गरिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान साढे चारबजे महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो ।  

ओलीबारे भ्रमपूर्ण समाचार लेख्ने पक्राउ 

यसैबीच ओलीबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक ‘पत्रकार’ पक्राउ परेका छन् । 

पाथिभरा अनलाईन डट् कम नामक अनलाइन समाचार पोर्टलका सम्पादक हरी प्रसाद मानन्धर पक्राउ परेका हुन् । 

महानगरीय अपराध महाशाखाले मानन्धरलाई पक्राउ गरेको हो । 

स्याङ्जाको हरिनाथ गाउँपालिका–६ घर भएर काठमाडौंको कागेश्वरी बस्दै आएका मानन्धरविरुद्ध विद्युतीय अपराध तथा कसुर मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जनाए । 


भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर 
चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर भएका छन् । 

विशेष अदालतले डा श्रेष्ठलाई पदमा रहँदा अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी प्रमाणित गरेको हो । 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई दोषी ठहर गरेको हो । विशेष अदालतले श्रेष्ठविरुद्ध १ वर्ष कैद तथा १ करोड १८ लाख ६६ हजार ७ सय ७६ रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । 


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे कालोपत्रे शुरु
राष्ट्रिय गौरवको आयोजनाका रूपमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउने गरी धावनमार्ग (रनवे) कालोपत्र गर्ने कार्य शुरू भएको छ । सन् २०१९ को जुलाई १६ अघि नै विमानस्थल सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ ।

विमानस्थलमा रहेको तीन किलोमिटर ‘रनवे’ को सब बेस लेयर र बेस लेयर पूरा गरेर अहिले आयोजनाले पिचको काम शुरू गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले धावनमार्ग पिच गर्ने कार्यको उद्घाटन गर्दै विमानस्थलबाट ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने दाबी गरे । 

१७ वर्षपछि प्रहरी कंगो शान्ति मिसनमा खटिँदै
राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वग्रस्त अध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ । 

राष्ट्रसंघले २ जना नेपाल प्रहरीका अधिकृतलाई कंगोका लागि छनोट गरेको हो । डीएसपी सुरेस प्रधान र इन्सेक्टर तुलसा खतिवडा आगामी महिना कंगो जान लागेको नेपाल प्रहरीको संयुक्त राष्ट्रसंघ शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए ।

सन् २००१ पछि फेरि नेपाल प्रहरी पर्यवेक्षकको रुपमा कंगोमा खटिन लागेको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीलाई रु दुई लाख घुस लिएको अभियोगमा  पक्राउ गरेको छ । 

नापनक्साबमोजिम जग्गाको क्षेत्रफल सच्याई धनीपुर्जामा कायम गरीदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको प्राप्त सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपी चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 

राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट
 कतारको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच अमिरी दिवान(दरबार)मा भेटवार्ता भएको छ । 
यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा यहाँको सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भेटवार्तामा दुई देशबीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको छ । 

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ। सो सहमतिपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले हस्ताक्षर गर्नु भएको छ। 
त्यसैगरी कृषि तथा खाद्य सुरक्षामा दुई देशबीच सहयोग आदानप्रदान सम्बन्धी अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र कतारका तर्फबाट वातावरण तथा नगरपालिका सम्बन्धी मन्त्री मोहम्मद बिल अब्दुल्ला अलले हस्ताक्षर गर्नु भएको छ। 
परराष्ट्र मन्त्री ज्ञवालीले उक्त सहमतिबाट दुई देशबीचको सम्बन्ध, सहयोग र सहकार्य अझ फराकिलो हुने विश्वाश व्यक्त गर्नु भएको छ । 

गोली चल्दा एकको मृत्यु
रामनगर गाउँपालिकामा मंगलबार बिहान नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । 

गोली लागेर नेपाली काङ्ग्रेसका कार्यकर्ता रामनगर गाउँपालिका–४ बहुअर्वाका ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ६ः३० बजे गोली प्रहारबाट महतोको आफ्नै घर अगाडि मृत्यु भएको काङ्ग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए । 

गोलको छर्रा लागेर तथा झडपमा परेर सात जना घाइते भएका छन् । घाइते लिन पुगेको एम्बुलेन्समा समेत तोडफोड भएको छ । दश घरको खरले छाएको छानासमेत फुटाइएको छ । अन्य घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको छ । 

सो स्थानमा सोमबार मात्रै काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोमाथि आक्रमण भएको थियो । आक्रमणबाट वडाध्यक्ष महतोको टाउकामा गहिरो चोट लागेको तथा बायाँ खुट्टा भाँच्चिएको छ । 


 


 

salt training

कमेन्ट गर्नुहोस्