काठमाडौं — श्रीलंकामा बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिंघेको पार्टीले राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि कूको आरोप लगाउँदै मंगलवार विरोध प्रदर्शन गरेका छन् ।
यसैबीचमा दुवै पक्ष राजनीतिक संकट अन्त्इका लागि संसदमा बहुमत जुटाउन लागिपरेका छन् ।
श्रीलंकामा शुक्रवार राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमसिंघेलाई बर्खास्त गरेका थिए । उनले महिन्दा राजपक्षेलाई नयाँ प्रधानमन्त्री बनाएर उनका लागि समर्थन जुटाउनका लागि संसद् निलम्बित गरिदिएका थिए ।
सिरिसेनामाथि संसद् सत्र आह्वान गर्न र संवैधानिक संकट समाधान गर्न दबाब परिरहेको छ । विक्रमसिंघेको युनाइटेड नेसनल पार्टीले मंगलवार राजधानी कोलम्बोमा विरोध प्रदर्शन गरेको हो ।
विक्रमसिंघे सरकारका अर्थमन्त्री रहेका मंगला समरवीराले भने, ‘यो संवैधानिक कू हो र लोकतन्त्र तथा सम्प्रभुतालाई बचाउनु हाम्रो कर्तव्य हो ।’
सभामुख कारु जयसूर्याले विक्रमसिंघेलाई संसदमा विश्वासामत प्राप्त गर्नका लागि अवसर दिन अनुरोध गरेका छन् ।
उता राजपक्षेका समर्थकहरूलाई संसदमा बहुमत सिद्ध गर्न सकिने किनकि विक्रमसिंघेको दलका सांसदले पार्टी परिवर्तन गर्ने आशा गरेका छन् ।
राजपक्षेका निकटवर्ती लक्ष्मण यापा आबेवर्धनेले भने, ‘हामीहरू यूएनपीका अन्य सांसद पनि हाम्रो पार्टीमा आउने प्रतीक्षा गरिरहेका छौं । हामीहरूसँग बहुमत छ ।’
उता विक्रमसिंघे चाहिँ आफूसँग बहुमत भएको दाबी गर्छन् ।
कम्तीमा १२८ सांसदले सभामुख जयसूर्यालाई पत्र लेखेर संसद् सत्र बोलाउने माग गरेका छन् । विक्रमसिंघे र राजपक्षे दुवैले संसदमा संख्या बढाउने कोशिश गरिरहेका छन् ।
एजेन्सी