
काठमाडौं — अन्टार्कटिकामा अनुसन्धान गरिरहेका एक वैज्ञानिकमाथि आफ्नो साथीको हत्याको कोशिश गरेको आरोप छ ।
कुनै पनि किताब पढ्न थाल्दा साथीले त्यसको क्लाइमेक्स पहिले नै भनिदिने हुँदा वैज्ञानिकले रिसाएर छुरा हानेका हुन् ।
मिडिया रिपोर्टहरूका अनुसार, ५५ वर्षीय साइन्टिफिक इन्जिनीयर सर्गेई स्यावित्स्की र ओलेग बेलोगुजोभ अन्टार्कटिकको दुर्गम स्थानमा रहेको किङ जर्ज टापुको रिसर्च स्टेसनमा अनुसन्धान गरिरहेका थिए ।
त्यहाँ मनोरञ्जनका अनेकौं साधन छन् । तर सर्गेईलाई टीभी हेर्न वा गेम खेल्नभन्दा पनि किताब पढ्न मन लाग्थ्यो ।
सर्गेईसँग लामो समयसम्म काम गरिरहेका ओलेगले चाहिँ उनलाई जिस्क्याउने हिसाबमा सर्गेईले पढिरहेका वा पढ्न लागेका किताबको क्लाइमेक्सको खुलासा गरिदिन्थे ।
सधैं यस्तो भइरहँदा सर्गेई रिसाए र दुई हप्ताअघि क्यान्टीनमा ओलेगमाथि चक्कुले आक्रमण गरे । उनले ओलेगको छाती नै चिरिदिए । ओलेगको हालत गम्भीर छ ।
रुसका अनुसन्धान अधिकारीहरूले सर्गेईलाई पक्राउ गरेका छन् । अन्टार्कटिकामा हत्याको यो पहिलो कोशिश भएको बताइन्छ । यो हिउँ भरिएको क्षेत्रमा दुई मानिसबीचको हिंसाको घटना सार्वजनिक भएको थिएन ।
रुसको यो रिसर्च स्टेसन सन् १९६८ मा बनेको हो । मस्कोबाट यो रिसर्च स्टेसन १५ हजार किलोमिटर टाढा छ । यस क्षेत्रको तापक्रम लगातार माइनस पाँच डिग्री वरिपरि रहने हुँदा यहाँ अहिलेसम्म मानिस बसेका छैनन् ।
एजेन्सी