०७ असार २०८३, आइतबार

अर्को टीकापुरकाण्डको षड्यन्त्र ! 'सद्भाव खल्बल्याउने दुष्कर्म' भन्ने ओलीको संकेत कता ?

कात्तिक १४, २०७५
अर्को टीकापुरकाण्डको षड्यन्त्र ! 'सद्भाव खल्बल्याउने दुष्कर्म' भन्ने ओलीको संकेत कता ?

काठमाडौं –आफ्नो स्वास्थ्य स्थितिबारे सर्वसाधारण जनतालाई आस्वस्त पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार अपराह्न एक वक्तव्य जारी गरे । अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिबद्धता ओलीको विज्ञप्तिमा थियो । 

स्वास्थ्य स्थितिबारे जानकारी गराउन ओलीले नै हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा केही गम्भीर विषयको पनि उठान गरिएको थियो । विज्ञप्तिको तेस्रो प्याराग्राफमा धर्म संस्कृतिको नाममा आपसी सद्भाव खल्बल्याउने प्रकृतिको दुष्कर्म मान्य हुन नसक्ने लेखिएको छ । 

‘धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन । यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानूनबमोजिम कारवाही गर्छ,’ ओलीको सन्देशमा भनिएको छ । 

के हो त्यो दुष्कर्म ?

सरकारलाई असफल बनाउने षड्यन्त्र स्वरूप केहीले तत्व हिंसा भड्काउन खोजेको सरकारको मूल्याङ्कन छ । प्रधानमन्त्रीको वक्तव्य आउनुपूर्व सर्लाहीको रामनगरमा एकजनाको मृत्यु हुनेगरी गम्भीर प्रकारको गोलीकाण्ड भयो । सामान्य निहुँमा शुरू भएको घटना दोहोरो झडप हुँदै साम्प्रदायिक रूप लिन लागेको भन्दै सुरक्षा सतर्कता बढाइएको छ । 

सर्लाही घटनाको विषयलाई लिएर अस्पतालको शय्यामा रहेका प्रधानमन्त्री ओलीले बुधवार रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग छलफल गरे । सर्लाही घटनालाई लिएर कांग्रेसले राजनीति गर्न खोजेको सरकारको निष्कर्ष छ । 

‘कांग्रेस उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्मा नै घटनास्थलमा पुगेर राजनीति गर्न खोजेको देखिन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । सर्लाही ४ का सांसद अमरेशकुमार सिंहको निर्देशनमा योजनाबद्ध ढंगले सर्लाही घटना घटनाइएको सरकारको निष्कर्ष छ । 

सरकारलाई अप्ठ्यारो पार्नका लागि विभिन्न शक्तिले तराईका जिल्लामा साम्प्रदायिक हिंसा भड्काउने खालका क्रियाकलाप घटाउने प्रयत्न गरिरहेको सरकारको बुझाइ छ ।

‘कपिलवस्तु, सर्लाही, बारा र रौतहटमा भएका घटनाप्रति सरकार गम्भीर भएको छ, सुक्ष्म सुरक्षा निगरानी गरेरै प्रधानमन्त्रीको वक्तव्यमा सद्भाव खल्बल्याउने दुष्कर्मको कुरा उल्लेख भएको हो,’ प्रधानमन्त्री निकट स्रोतले लोकान्तरसँग भन्यो । 

दशैंको टीकाको अघिल्लो दिन दुर्गा सेलाउने क्रममा कपिलवस्तुमा त्यस्तै साम्प्रदायिक झडपको स्थिति आएको थियो । हिन्दू र मुस्लिम समुदायबीच हिंसा भड्किने स्थिति आएपछि स्थानीय प्रशासनले कपिलवस्तुको कृष्णनगरमा पटक–पटक कर्फ्यु लगाएको थियो । सो घटनामा पनि नेपाली कांग्रेसका नेताको निर्देशनमा योजनाबद्ध ढंगले भएको सुरक्षा स्रोत बताउँछ । 

यस्तै रौतहटमा केहीदिन पहिले एक हिन्दूको घरमा गोरुको टाउको फ्याँकिएको तथा बारामा मुस्लिमको शव गाडेको ठाउँमा खनेर उत्खनन् गरिएको लगायतका घटनाप्रति सरकार संवेदनशील रहेको बालुवाटार स्रोतले बतायो । 
‘सरकारलाई अप्ठ्यारो पार्ने र अर्को टीकापुर घटना घटाउने षड्यन्त्रप्रति सजग छ,’ ओली निकट स्रोतले भन्यो ।

२०७२ साल भदौमा कैलालीको टीकापुरमा भएको घटनामा नेपाल प्रहरीका एसपी सहित ६ जनामो मृत्यु भएको थियो । 

हेर्नुहोस्, प्रधानमन्त्रीको वक्तव्य :

कमेन्ट गर्नुहोस्