(मीना घोरसाइने) काभ्रे, १७ फागुन - उग्रचण्डी नाला गाविस– ४ बुल्ले गाउँका ४० वर्षीय हरि सञ्जेल अहिले आर्थिक रुपमा निकै सवल हुनुभएको छ ।
विगत दुई वर्षदेखि करिब तीन रोपनी जग्गामा टनेल राखेर तरकारी उत्पादन गर्न थालेपछि उहाँ आर्थिक रुपमा सवल हुनुभएको हो । टनेल राखेर तरकारीखेती गर्न थालेपछि नसोचेको आम्दानी गर्न सकेको सञ्जेल बताउनुहुन्छ । टनेल खेतीबाट एक वर्षमै एक रोपनी जग्गाबाट रु दुई लाख ५० हजार आम्दानी गरेको उहाँको भनाइ छ ।
विगत पाँच वर्षदेखि १३ वटा टनेल राखेर सञ्जेलले बेमौसमी तरकारी उत्पादन गर्दैआउनुभएको छ । टनेलभित्र उत्पादन गर्दा बेमौसमी तरकारी खेतीबाट किसानले मौसमी खेतीभन्दा दोब्बर उत्पादन लिनसक्छन् । “तरकारीको आम्दानीले पाँच जनाको परिवार धान्न सजिलोे भएको छ,” उहाँले भन्नुभयो ।
सञ्जेल जस्तै यहाँका अन्य स्थानीयवासी पनि अहिले टनेल खेतीप्रति निकै आकर्षित भएका छन् । सुरुमा आफूले ६ वटा टनेलमा तरकारी उत्पादन गर्दै आएकोमा त्यसबाट मनग्य आम्दानी भएपछि थप सातवटा टनेल राखेको अर्का किसान नवराज सञ्जेलले बताउनुभयो ।
केही वर्ष रोजगारका लागि मलेसिया पुग्नुभएका उहाँ स्वदेश फर्किएपछि पर्याप्त आम्दानी हुने देखेर तरकारी खेतीतर्फ आकर्षित हुनुभएको हो । खुल्ला ठाउँमा तरकारीखेती गर्दा चाँडै बिग्रने थाहा पाएर उहाँ टनेल बनाएर तरकारीखेती गर्न लाग्नुभएको हो ।
“विदेशको भन्दा तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको छु,” उहाँले भन्नुभयो । टनेलमा तरकारीखेती गर्दा खुल्ला ठाउँमा भन्दा कम खर्च हुने गरेको उहाँले बताउनुभयो । नेपालबाट बर्सेनि लाखौं युवा विदेश पलायन हुने गरेका छन् । कतिपयले त अकालमै ज्यान समेत गुमाउने गरेका छन् ।
स्वदेशमै बसेर मेहनत गरेर पढाइ र खेती गरे पर्याप्त आम्दानी गन सकिने स्थानीयवासी २३ वर्षीय साजन श्रेष्ठ बताउनुहुन्छ । स्नातकोत्तर तहमा अध्यनरत श्रेष्ठले विगत पाँच वर्षदेखि पढाइ र टनेलखेती दुवैलाई निरन्तरता दिँदै आउनुभएको छ ।
“स्वदेशमै मेहनत गरे आम्दानी गर्न सक्ने थुपै्र सम्भावना छन्,” श्रेष्ठले भन्नुभयो । परिवारसँगै रहेर काम गर्दा हौसला समेत मिलेको उहाँको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयमा बर्सेनि पाँच हजारभन्दा बढी किसानले टनेल खेतीका लागि निवेदन दिने गरेका छन् । “वर्षमा ५०० जनालाई मात्र टनेलका लागि रकम उपलब्ध गराउने गरेका छौँ,” बाली विकास अधिकृत थर्क जिसीले भन्नुभयो । टनेलमा तरकारीखेती गर्दा तरकारीको सुरक्षा र उत्पादन बढी गर्न सकिने उहाँ बताउनुहुन्छ ।
जिल्लामा करिब एक हजार किसानले टनेल बनाएर तरकारीखेती गर्दै आएका छन् । टनेलमा गोडभेँंडा, काउली, लसुन, बन्दागोभी, बोडी, काँक्रोलगायत तरकारी उत्पादन गर्न सकिन्छ । टनेल निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । रासस (तस्बिर उपलब्ध छ)