काठमाडौं, १७ फागुन — सोमवार अस्कर अवार्ड वितरण समारोहमा सर्वोत्कृष्ट चलचित्रको घोषणामा भएको गल्तीमाथि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

हलिउडले आफ्नो काममा ध्यान दिनुको साटो राष्ट्रपतिको चियोचर्चो गर्ने भएकाले गल्ती हुन पुगेको उनले बताए ।
‘अवार्ड समारोह राम्ररी आयोजना गर्नुको साटो मलाई गाली गर्नमा दिमाग लगाएपछि यस्तै गल्ती त हुन्छ नि, खुच्चिङ,’ उनले भने ।
मूनलाइटलाई सर्वोत्कृष्ट चलचित्रको पुरस्कार दिनुपर्नेमा गल्ती ला ला ल्यान्डको नाम घोषणा गरिएको थियो । अनि अवार्ड समारोहमा विभिन्न कलाकारले ट्रम्पको प्रत्यक्ष अप्रत्यक्ष आलोचना गरेका थिए ।
हलिउडका हस्तीहरूले आफूमाथि गरेको व्यंग्य तथा अस्कर समारोहमा भएको गडबडीबीचको प्रस्ट सम्बन्धका बारेमा ट्रम्पले केही बताएनन् । उनले अस्कर समारोह हेरे कि हेरेनन् भन्ने समेत थाहा हुन सकेन ।
ब्राइटबार्ट न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले अस्कर आयोजकहरूको आलोचना गरेका हुन् । ‘यो एउटा गल्तीले पूरै अस्कर अवार्ड समारोह खल्लो बनायो । हुन पनि यसपालीको समारोह ग्ल्यामरस पनि थिएन । म पहिला पनि अस्कर समारोहमा गएको छु । पहिलाको जस्तो रौनक यसपाली देखिएन । यसको समापन नै एकदम निराशाजनक भयो ।’
एजेन्सीको सहयोगमा