काठमाडौ, ३० मंसिर– विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा र पार्टीको भावी रणनीति बनाउन नेकपा एमालेको स्थायी कमिटी बैठक पार्टी कार्यालयमा बिहिबार बस्दैछ ।

दिउसो १२ बजेपछि बस्ने बैठकमा संविधान संशोधन प्रस्तावलाई असफल बनाउने र प्रमुख दलहरुबीच शुरु भएको संवाद प्रक्रियाको बिषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
एमाले स्थायी समिति सदस्य किरण गुरुङले संशोधन प्रस्तावका विरुद्ध कसरी जाने भन्ने बारे छलफल केन्द्रीत हुने जानकारी दिए । स्थानिय निकायको निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावबारे बैठकमा एमालेले आधिकारीक धारणा बनाउने छ ।
यसअघि मंगलवार बसेको प्रमुख तीन दलका नेताको बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन गर्न प्रस्ताव गरेका थिए । गुरुङका अनुसार सरकारलाई निर्वाचनको मिति तोक्न र निर्वाचनको तयारी गर्न दबाब दिन दिने गरी समेत बैठकले निर्णय गर्नेछ ।