२९ जेठ २०८३, शुक्रबार

साधारणका लागि माथिल्लो तामाकोशीको शेयर खुल्ला, एक हजार कित्तासम्म आवेदन दिन पाइने

कात्तिक १५, २०७५
साधारणका लागि माथिल्लो तामाकोशीको शेयर खुल्ला, एक हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौँ- माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु गरेको छ । 

कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री र बाँडफाँट गरिसकेको छ । बुधबार मात्रै कम्पनीले दोलखावासीलाई साधारण शेयर बाँडफाँट गरेको हो । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । धितोपत्र निष्काशन छिटोमा यही कात्तिक १९ गतेसम्म तथा बढीमा मङ्सिर १४ गतेसम्म हुनेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । 

दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ । यस्तै आयोजना प्रभावित दोलखावासीका लागि गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री भइसकेको छ ।

कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई यसअघि नै शेयर बिक्री गरिसकेको छ । 

कम्पनीले सर्वसाधारण शेयरतर्फ रु १० अर्ब बराबरको शेयर बिक्री गर्ने जनाएको छ । त्यसमा सञ्चयकोषका सञ्चयकर्तादेखि स्थानीयवासी र सर्वसाधारणसमेतको शेयरको हिस्सा रहनेछ ।

माथिल्लो तामाकोशी आयोजनाको बिजुली व्यावसायिक उत्पादनको लागि भने अझै एक वर्ष जति कुर्नुपर्ने छ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले दोलखावासीले जस्तै सर्वसाधारणले पनि शेयरमा विशेष चासो राख्ने र धेरैभन्दा धेरै नागरिक सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो ।रासस

salt training

कमेन्ट गर्नुहोस्