१६ असार २०८३, मंगलबार

औषधि खरिदमा पौने ४ लाखको भ्रष्टाचार, कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा दर्ता

कात्तिक १५, २०७५
औषधि खरिदमा पौने ४ लाखको भ्रष्टाचार, कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं– जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा औषधि र खोप खरिदमा भएको पौने ४ लाख रुपैयाँको भ्रष्टाचार भएको देखिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट स्वास्थ्य कार्यालय धनकुटाका कार्यालय प्रमुख र फोकल पर्सन समेतको मिलेमतोमा ३ लाख ८१ हजार ८१ रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको भेटिएको हो ।

आर्थिक वर्ष २०६९/०७० सञ्चालीत दादुरा रूवेला, सुरक्षित मातृत्व, हात्तीपाइले रोग उन्मुलन नियन्त्रण, परिवार नियोजन, औषधि खरीद, सूचना तथा सञ्चार केन्द्र स्थापना कार्यक्रमको साथै औषधि खरिदमा काम नै नगरी बिल भर्पाई बनाई भ्रष्टाचार गरिएको अख्तियारले जनाएको छ । 

स्वास्थ्य कार्यालय धनकुटाका तत्कालीन प्रमुख भानुभक्त येङ्देन र लेखा अधिकृत दहलमान राईले सोही कार्यालयका स्टोर किपर हरीकुमार पोखरेल र खोप सुपरभाइजर अधिकृत प्रकाश अधिकारीसँगको मिलेमतोमा अनियमितता गरेको अख्तियारको ठहर छ । 

आर्थिक वर्ष २०६९/०७० दादुरा रुवेला खोप कार्यक्रम अन्तर्गत निकासा भएको बजेटमा भ्याक्सिन ढुवानी, कार्यक्रम सञ्चालन, औषधी ढुवानी, सवारी साधनको इन्धन खर्च र कार्यालय संचालन तथा व्यवस्थापनका सामान खरिद गरेको भनी ३ लाख ८१ हजार ८१ रुपैयाँ ७५ पैसाको नक्कली बिल भर्पाइ बनाइ आर्थिक अनियमितता गरिएको अख्तियारको छानबिनबाट फेला परेको हो । 

अख्तियारले तत्कालीन कार्यालय प्रमुख भानुभक्त येङदेनविरुद्ध ३ लाख ८१ हजार ८१ रुपैयाँ ७५ पैसा बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । यस्तै लेखा अधिकृत दहलमान राईविरुद्ध पनि सोही बराबर बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 

नायव सुब्बा हरीकुमार पोखरेलविरुद्ध २ लाख ४७ हजार ९१ रुपैयाँ तथा खोप सुपरभाइजर प्रकाश अधिकारीविरुद्ध १ लाख ३३ हजार ९ सय ९० रुपैयाँ बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्