
काठमाडौं– बृहत्तर जनकपुर क्षेत्र विकास परिषदबाट रंगभूमि मैदान, गंगासागर र तिरहुतीया गाछी संरक्षण लगायत ८ वटा ठेक्कामा आर्थिक अनियमितता भएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट भारत सरकारको सहयोगमा सञ्चालित ८ वटा ठेक्कामध्ये ५ वटा ठेक्काको बोलपत्र छनौटमा अनियमितता भएको भेटिएको हो । अख्तियारका अनुसार बोलपत्र छनौटको क्रममा कूल ७६ लाख २८ हजार ५ सय २ रुपैयाँ ९२ पैसा बराबरको रकम हिनामिना भएको हो ।
ठेक्का नम्बर GOI/RB02/067-68JNP, GOI/RB03/067-68JNP, GOI/RB04/067-68JNP, GOI/GD03/067JNP र GOI/GD04/076-068JNP मा गरी ५ वटा प्याकेजमा अनुमानित बजेटभन्दा ३० प्रतिशतभन्दा बढी घटेको भन्दै बालेपत्र स्वीकृत नगरी परिषदका पदाधिकारीले आर्थिक हिनामिना गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले आर्थिक हिनामिनामा संलग्न भन्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका पदाधिकारी र ठेकेदार कम्पनीका अधिकारप्राप्त प्रतिनिधि गरी १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीवार मुद्दा दर्ता गरेको हो ।
अख्तियारले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष दिगम्वर रायविरुद्ध ७६ लाख २८ हजार ५ सय २ रुपैयाँ ९२ पैसा बिगो दावी गर्दै मुद्दा दायर गरेको छ । यस्तै परिषदका तत्कालीन कार्यकारी निर्देशक डा. सूर्यदेव साहविरुद्ध ६२ लाख ८८ हजार ५ सय ६९, परिषदका नायव सुब्बा उषा मिश्रविरुद्ध ६२ लाख ८८ हजार ५ सय ६९ र लेखापाल उत्तमराज शर्मा ढकालविरुद्ध ६२ लाख ८८ हजार ५ सय ६९ रुपैयाँ बिगो दावी गर्दै मुद्दा दर्ता गरिएको छ ।
परिषदका तत्कालीन कार्यकारी निर्देशक रोज कुमार साहबाट ६२ लाख ८८ हजार ५ सय ६९ रुपैयाँ बिगो दावी गरिएको छ भने तत्कालीन कार्यकारी निर्देशक गोपाल झाविरुद्ध ९ लाख ८५ हजार ८ सय ३८ रुपैयाँ बिगो दावी गर्दै मुद्दा दर्ता भएको छ ।
यस्तै परिषदका तत्कालीन सव इन्जिनियर परशुराम साहविरुद्ध ३ लाख ५४ हजार ९५ रुपैयाँ बिगो दावी गरिएको छ भने तत्कालीन प्रोजेक्ट इन्जिनियर उपेन्द्र झाविरुद्ध १३ लाख ३९ हजार ९ सय ३३ रुपैयाँ बिगो दावी गर्दै मुद्दा दर्ता गरिएको छ ।
यस्तै ठेकेदार कम्पनी चन्द्रा एण्ड बसन्त कन्ट्रक्सनका प्रतिनिधि विष्णु बहादुर राउतविरुद्ध ९ लाख ८५ हजार ८ सय ३८ रुपैयाँ ८४ पैसा विगो दावी गर्दै मुद्दा दायर भएको छ ।
अर्को ठेकेदार कम्पनी डाँफे–सगरमाथा जेभीका प्रतिनिधि प्रदिप नारायण शाहविरुद्ध ३ लाख ५४ हजार ९४ रुपैयाँ बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
याे पनि पढ्नुहाेस्,