
काठमाडौं- काठमाडौंको व्यस्त स्थान । सुन्धारास्थित काठमाडौं मल । अपरान्ह ४ बज्दै थियो । मल बाहिर तेर्सिएका क्यामेरा देखेर मानिसहरुमा चासो बढ्दै थियो । त्यत्तिकैमा अचानक गीत बज्न थाल्यो र सुरु भयो सांगितिक माहोल । क्रमश डान्सरहरु नाँच्दै गर्दा झुल्किइन् नायिका स्वस्तिमा खड्का । उनले ४० बढी डान्सरसंग एकसाथ नृत्य गरिन् । यो सांगितिक माहोल चलचित्र ‘बुलबुल’को थियो । 
पछिल्लो समय चलचित्र प्रचारका लागि अनेकौं फण्डा अपनाउन थालिएको छ ।
चलचित्र ‘बुलबुल’ले नयाँ शैली अपनाउँदै ‘फ्ल्यास मोब’ शैलीमा चलचित्रको पहिलो गीत सार्वजनिक गरेको हो ।
देशका प्रमुख पाँच सहरमा स्वयंसेवी डान्सरले एकसाथ नृत्य गर्दै चलचित्रको ‘खुद्राखाद्री माया’ बोलको गीत युट्युब रिलिज गरिएको हो । जसअन्तर्गत काठमाण्डौको काठमाण्डौ मल अगाडि भने नायिका स्वस्तिमा, नायक मुकुनले ‘खुद्राखाद्री माया’ गीतमा ४० भन्दा बढी डान्सहरुमाझ नृत्य गरेका थिए ।
नृत्यपश्चात नायिका स्वस्तिमा खड्कासँग सेल्फी लिनका लागि फ्यानहरुको भीड लागेको थियो ।
कोशिष क्षेत्रीको शब्द तथा संगीतमा तयार भएको ‘खुद्राखाद्री माया’ गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ । कविराज गहतराजले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् ।
अविरल थापा निर्मित चलचित्रलाई विनोद पौडेले निर्देशन गरेका हुन । फागुन ३ गतेदेखी प्रदर्शनमा आउने चलचित्रमा स्वस्तिमा टेम्पो चालकको भूमिकामा छिन् । चलचित्रमा स्वस्तिमा र मुकुनका साथमा दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, एलिना कार्की लगायतको अभिनय रहेको छ ।