३० जेठ २०८३, शनिबार

फ्राइडे रिलिज– ‘मालिका’ र ‘चङ्गा चेट’ लाई  ‘छक्का पञ्जा-३’ को चुनौती

कात्तिक १६, २०७५
फ्राइडे रिलिज– ‘मालिका’ र ‘चङ्गा चेट’ लाई  ‘छक्का पञ्जा-३’ को चुनौती

काठमाडौं– नेपाली चलचित्र बजारमा प्रत्येक शुक्रबार दुई÷तीनवटा चलचित्र प्रदर्शनमा आउँनु नौलो होइन । तर पछिल्लो दुई शुक्रबार भने कुनै पनि चलचित्र प्रदर्शन भएनन् ।  कारण थियो, असोज २४ र ३० गतेबाट प्रदर्शनमा आएका चलचित्र –‘छक्का पञ्जा ३’ र ‘जय भोले’ ।

ठूला ब्यानर र स्टार कलाकारहरुले भरिएका यी चलचित्र हेर्न अहिले पनि हलमा दर्शकको उपस्थिती उल्लेखनीय छ । तर तीन हप्तादेखि चलचित्र ‘छक्का पञ्जा ३’ र ‘जय भोले’को हल कब्जालाई चलचित्र ‘मालिका’ र ‘चङ्गा चेट’ले तोडेको छ । आज अर्थात शुक्रबारबाट यी दुई चलचित्र प्रदर्शनमा आएका छन् । 

‘मालिका’मा रेखाको आशा

रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र हो ‘मालिका’ । वालविवाह तथा दाइजोप्रथा विरुद्धको कथावस्तु चलचित्रमा  समेटिएको छ । 
आफ्ना प्रायः चलचित्रमा आफू नै मुख्य भूमिकामा प्रस्तुत हुँदै आएकी रेखाले यस चलचित्रमा जाजरकोटकी १५ वर्षीया कमला वलीलाई त्यो भूमिका सुम्पेकी छिन् । साथमा आफू पनि विशेष भूमिकामा प्रस्तुत छिन् । चलचित्रको कथा, परिकल्पना नरबहादुर कार्कीको हो । मालिका महिला हिंसा विरुद्धको आवाज भएको रेखा बताउँछिन् । चलचित्रमा एसडी योगी र सुरेश अधिकारीको संगीत तथा वनिष शाहको सम्पादन छ ।

‘चङ्गा चेट’ मा प्रियंका र आयुष्मानको जोडी

शुक्रबारबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो, ‘चङ्गा चेट’ । माधव वाग्ले र शर्मिला पाण्डेको निर्माण रहेको चलचित्रलाई पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप भारद्धाजको कथा छ । गीत र ट्रेलरबाट राम्रो हाइट पाएको यो चलचित्र पनि दर्शकमाझ प्रतिक्षित थियो । चलचित्रमा पैसा हुने र नहुनेबिचको कथालाई रमाईलो तरिकाले प्रस्तुत गरिएको निर्देशक खनाल बताउँछन् । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय छ । 

‘छक्का पञ्जा ३’ को चुनौती

आजबाट प्रदर्शनमा आएका यी दुई नेपाली चलचित्रलाई ‘छक्का पञ्जा ३’ चुनौती देखिएको छ । चौथो सातामा प्रदर्शनरत चलचित्रमा दर्शकको चाप अझै पनि बाक्लै देखिन्छ । यता ‘मालिका’ र ‘चङ्गा चेट’ निर्माताले भने आफ्ना चलचित्र फरक जनराका भएको कारण त्यसको असर नहुने बताउँछन् । मालिका निर्मात्री, निर्देशक तथा अभिनेत्री रेखा भन्छिन् –‘पहिलो कुरा मालिका फरक जनराको चलचित्र हो, अर्को कुरा ति चलचित्र प्रदर्शन भएको धेरै दिन भयो । दर्शकले फ्रेस चलचित्र हेर्न खोज्छ । त्यसकारण पनि कुनै डर छैन् ।’ मल्टिप्लेक्समा नेपाली चलचित्र ‘बियोन्ड द क्लाउड्स’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्