१६ असार २०८३, मंगलबार

गलत रिपोर्ट दिने डाक्टरविरुद्ध भ्रष्टाचार मुद्दा, चिकित्सक संघले दियो हड्ताल गर्ने चेतावनी

कात्तिक १७, २०७५
गलत रिपोर्ट दिने डाक्टरविरुद्ध भ्रष्टाचार मुद्दा, चिकित्सक संघले दियो हड्ताल गर्ने चेतावनी

जनकपुरधाम– गलत मेडिकल रिपोर्ट दिने चिकित्सकविरुद्ध कारबाही प्रक्रिया अगाडी बढाउँदा नेपाल चिकित्सक संघ जनकपुर अंचल शाखाले आपत्ति जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको घटनामा गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टरलाई पक्राउ गरेर भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाले विरोध गरेको हो । 

नेपाल चिकित्सक संघ जनकपुर शाखाले शुक्रबार विज्ञप्ती जारी गर्दै पक्राउ गरिएका दुवै चिकित्सक विजयकुमार सिंह र रम्भा गोइतलाई अबिलम्ब रिहाइ गर्न माग गरेको छ । उनीहरूलाई रिहाइ नगरे कडाभन्दा कडा कदम चाल्न बाध्य हुने र त्यसबाट बिरामीमा पर्न जाने क्षतिको जिम्मेबार सम्बन्धित निकाय नै हुने विज्ञप्ति मार्फत चेतावनी समेत दिइएको छ ।

शुक्रबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पतालका डा.विजयकुमार सिंह र डा.रम्भा गोइतविरुद्ध बिशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । अख्तियारले विशेष अदालतमा उनीहरुलाई सरकारी चिकित्सकको पद  दुरुपयोग गरी भ्रष्टाचार गरेकाले हदैसम्म जेल सजाय माग गर्दै मुद्दा दायर गरेको हो । 

इलाका प्रहरी कार्यालय, खजुरी धनुषाले गरेको अनुसन्धानअनुसार एक १२ वर्षिया बालिकाको बलात्कारसम्बन्धी स्वास्थ्य परिक्षणमा गलत रिपोर्ट दिएको आरोपमा उनीहरुलाई यस अघि नै निलम्वन गर्नुका साथै लाइसेन्स समेत रोक्का गरिएको छ । ‘चिकित्सक भएर काम गर्दा आफ्नो कर्तव्य पूरा गर्दा समेत कहिलेकाहीं सामान्य त्रुटी हुन जाँदैमा चिकित्सकलाई हिरासतमा लिएर कारबाही गर्नु निन्दनीय काम हो,’ नेपाल चिकित्सक संघ जनकपुरका सह–कोषाध्यक्ष डा.अजयकुमार साहले भने, ‘छानबिनको क्रममा ती दुई जना चिकित्सकको लाइसेन्स निलम्बित छँदै थियो, पक्राउ गर्नु पर्ने जरुरी नै थिएन ।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि पत्र पठाए पछि दुवै चिकित्सक आइतवार काठमाडौं पुगे । त्यहाँ सधैं बोलाएर सोधपुछ गर्ने र जान दिने गरेकोमा शुक्रबार हिरासतमा लिएर मुद्दा दर्ता गरिएको छ, त्यसको हामी बिरोध गरिरहेका छौं, साहले लोकान्तरसंग भने । शनिबार बिदा पर्ने भएकाले नियतबस थुनामा नै राख्नका लागि पक्राउ गरिएको उनले बताए ।

‘बिशेष अदालतमा मुद्दा दर्ता नै गर्नु थियो भने गर्न सकिन्थ्यो, तर पक्राउ गरेर मुद्दा दर्ता गर्नु गलत भएको चिकित्सक संघले ठहर गरेकाले रिहा नगरिए जनकपुर अंचल अस्पतालमा हामी कामकाज समेत ठप्प पार्न सक्छौं’, साहले भने । यसरी नै कारबाही गर्ने हो भने आज दुई जना चिकित्सक भोलि अन्य चिकित्सकहरू पनि पर्न सक्ने भएकाले बिरोध गरेको उनले बताए ।

२०७५ भदौ ८ गते जवरजस्ती करणी पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी गलत रिपोर्ट दिएको भन्दै यसअघि नै सरकारी वकिलको कार्यालयले निलम्वन गर्न सिफारिस गरेपछि उनीहरु कारबाहीमा परेका थिए ।  नेपाल मेडिकल काउन्सिलले  २५ असोजमा उनीहरुलाई निलम्वन गरेको थियो । काउन्सिलको अर्को निर्णय नआउँदासम्म दुवै डाक्टरलाई चिकित्सकीय अभ्यास गर्न रोक लगाएको हो ।

२०७५ भदौ २५ गते जिल्ला अस्पताल सिराहामा गरिएको पीडित बालिकाको स्वास्थ्य परिक्षण प्रतिवेदनबाट उनीहरुले गलत प्रतिवेदन दिएको देखिएको थियो ।   जनकपुर अञ्चल अस्पतालका चिकित्सकहरु सिंह र गोइतले बालिकाको स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले संवेदनशील रुपमा न्यूनतम गर्नसक्ने र गर्नुपर्ने काम समेत नगरी चरम लापरवाही गरी अनुसन्धान कार्यलाई प्रभावित पारेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

बलात्कारमा परेकी बालिकाको बलात्कार नभएको भन्दै डा. सिंह र डा.गोइतले अभियुक्तको पक्षमा रिपोर्ट बनाएपछि काउन्सिलले छानबिन समिति बनाएको थियो । प्रा.डा.हरिहर वस्ती, डा.कालुसिंह खत्री, डा.मधु तुम्बाहाम्फे र स्वास्थ्य मन्त्रालयका कानून उपसचिव पुष्करराज नेपाल समितिमा थिए । 

समितिले सिफारिस गरे बमोजिम बालिकाको शारीरिक जाँच गर्ने चिकित्सकद्वय गोइत र सिंहले न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट बनाएको ठहर गर्दै व्यवसायिक प्रमाणपत्र निलम्वन गर्ने निर्णय गरेको थियो । चिकित्सक संघका सह कोषाध्यक्ष साह भन्छन्,‘ मेडिकल प्रतिवेदनमा कहिले काहीं सामन्य त्रुटी हुन सक्छ तर त्यसकै निहुँमा मुद्दा नै दर्ता गर्ने हो भने भोलीदेखि जनकपुर अंचल अस्पतालमा कुनै पनि चिकित्सकले पोस्टमार्टम वा रेप केस सम्बन्धि जांच गर्ने छैनन्’ उनले भने, त्यसका लागि फोरेन्सिक विज्ञ चिकित्सक आवश्यक पर्छ र नेपाल सरकारले जनकपुर अंचल अस्पतालमा कुनै पनि फोरेन्सिक बिज्ञ चिकित्सक पठाएको छैन ।

जनकपुर अंचल अस्पतालको मेडिकल रिपोर्टको क्रस चेक त्यसभन्दा माथिल्लो तहको अस्पतालमा पठाउनु पर्थ्यो, तर तल्लो तह जिल्ला अस्पतालमा पठाइएकाले पनि प्रक्रिया समेत गलत भएको उनले बताए । अस्पताल स्रोतबाट प्राप्त जानकारी अनुसार घटनामा एउटा नयाँ तथ्य फेला परेको छ । 

पीडित बालिकाको मेडिकल रिपोर्टमा हस्ताक्षर गर्ने चिकित्सक डा. विजयकुमार सिंहले चेकजाँच नै गरेका थिएनन् । अर्का डा. रम्भा गोइतले चेक गरेर बनाएको मेडिकल रिपोर्टमा सिंहले विश्वासको आधारमा हस्ताक्षर गरेका थिए । जुन मेडिकल आचार संहिता विपरितको कार्य हो । यस घटना सन्दर्भमा सबैभन्दा पहिले लोकान्तरले खोज समाचार प्रकाशन गरेको थियो । अशोज ८ गते उक्त समाचार लोकान्तरमा प्रकाशित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्