
बागलुङ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली विशेषतासहितको समाजवाद निर्माणको काम थाल्नुपर्नेमा जोड दिएका छन् ।
नेकपा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, “नेपालको संविधान २०७२ ले नेपालमा समाजवादको कल्पना गरेकाले अबको कार्यभार नेपाली विशेषतासहितको समाजवाद निर्माण हुनुपर्छ ।”
नेता खनालले संसारको उत्कृष्ट संविधानको सूचीमा रहेको नेपालको संविधानका मुख्य लक्ष्य समाजवाद निर्माण गर्नुभएको उल्लेख गर्दै संविधानले परिकल्पना गरेका नागरिकका हकअधिकार स्थापित गर्नका लागि संविधानले तोकेका कार्यभार पूरा गर्न सबै नेपालीको दायित्व हुने बताए ।
देशमा गणतन्त्र स्थापनापछि अब देश लोकतान्त्रिक मूल्य र मान्यताअनुसार चल्ने र लोकतान्त्रिक गणतन्त्रमा निर्वाचन महत्वपूर्ण पक्ष भएको बताउँदै नेपालको निर्वाचन प्रणाली विस्तारै महङ्गो हुँदै गएकाले यसलाई तत्काल सुधार नगरे धनाड्यको गणतन्त्रमा रुपान्तरण हुने बताए ।
नेता खनालले देशको सिमाना सुरक्षा र स्वतन्त्रताको विषयमा जागरण ल्याउनुपर्ने बेला आएको बताउँदै “सुगौली सन्धिमा लेखिएबमोजिम महाकाली नदी हाम्रो देशको सिमाना हो तर नदी भन्दाभित्रका सबै भाग नेपालमा छैनन्”, भने ।
देशको सिमाना र स्वाभिमानको विषयमा सबैले मिलेर सङ्घर्ष गर्नुपर्नेमा जोड दिदैं उनले गरीबी निवारण र बेरोजगारीको अन्त्य अहिलेको प्रमुख चुनौती भएको धारणा व्यक्त गरे ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अहिलेसम्म सत्यतथ्य पत्ता नलाग्नुमा प्रहरी प्रशासनको फितलो भएकै कारण भएको भन्दै उनले राणा र पञ्चायतकालका अवशेष प्रशासनमा रहेका कारण समस्या भएको बताए ।