काठमाडौं, ३० मंसिर — सिरियाको पूर्वी एलेप्पोमा युद्धविराम सम्झौता भएको विद्रोही समूहहरूले जनाएका छन् भने सरकारसमर्थक सशस्त्र समूहले जटिलता बाँकी रहेको बताएका छन् ।

विद्रोही समूह नुरेद्दीन अल जिन्की र अहरार अल शामका अधिकारीहरूले घन्टौंको हिंसापछि युद्धविराम भएको बताएका छन् ।
तर सिरियालाई सहायता गर्ने हेजबोल्लाह समूहले बिहीवार बिहानै एलेप्पोको युद्धविराम सम्झौता र शहरबाट नागरिकहरूलाई अन्तै सारिएको खबर झुटो भएको बताएको छ ।
‘युद्धको अग्रमोर्चामा तनाव र सैन्य कारबाही चलिरहेकाले सम्झौतामा जटिलताहरू रहेका छन्,’ हेजबोल्लाहको मिडिया इकाइले बतायो । हेजबोल्लाह लेबनानको शिया राजनीतिक समूह हो जसलाई इरानले समर्थन गरेको छ ।
बेलायतमा रहेको सिरियाली मानवअधिकार समूहले रुस तथा टर्कीले मध्यस्थता गरेको अघिल्लो सम्झौता अन्त्य भएपछि युद्ध जारी रहेको बताएको छ ।
शुरूआती योजना अनुसार सिरियाको दोस्रो ठूलो शहर एलेप्पोको पूर्वी भागबाट हजारौं नागरिक र विद्रोही लडाकुलाई बुधवारदेखि अन्तै सारिनुपर्ने थियो । सिरियामा भएको पाँच वर्षभन्दा बढीको हिंसा सबभन्दा धेरै यहीँ भएको थियो ।
सरकारसमर्थक शिया लडाकुहरूले विद्रोहीको कब्जामा रहेका दुई शहर कफ्राया र अल फुआका नागरिकलाई पनि अन्तै सारिनुपर्ने बताएपछि शहर खाली बनाउने प्रक्रियामा ढिलाई भएको छ ।
बिहान सखारै शहर छोड्न चाहेका नागरिकहरूलाई सरकार समर्थक लडाकुले फर्काइदिएका थिए । उनीहरू जाँडोले थरथर काँप्दैछन् र भोका छन् ।
यसैबीच मंगलवार संयुक्त राष्ट्रंघले ११ महिला र १३ नाबालक सहित ८२ नागरिकलाई हालैका दिनमा हत्या गरिएको विश्वसनीय रिपोर्ट आफूले पाएको बताएको छ ।
संयुक्त राष्ट्रसंघीय आयोगले विद्रोही लडाकुले नागरिकहरूलाई एलेप्पोबाट भाग्न रोकेको र उनीहरूलाई मानवढालका रूपमा प्रयोग गरेको बताएको छ ।
अल जजीरा