
काठमाडौँ– संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले प्रस्तावित निगजढ विमानस्थल क्षेत्रको हवाइ अनुगमन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहनुभएको उपसमितिले करिब दुई घन्टा हेलिकोप्टरबाट उक्त क्षेत्रको अवलोकन गरेको हो ।
समितिले विमानस्थल निर्माण हुने क्षेत्रको स्थलगत अनुगमन गरेन । प्रस्तावित विमानस्थलबारे र वातावरणीय प्रभावबारे विभिन्न टीकाटिप्पणी भएपछि समितिले अनुगमनको निर्णय गरेको थियो । निर्णय अनुसार उपसमिति अनुगमनका लागि गएको हो ।
दुई पटकसम्म अनुगमनको समय सरेपछि तेस्रो प्रयासमा अनुगमन गरिएको हो । उपसमिति सदस्य, वन तथा वातावरण क्षेत्रका विज्ञ र दुई विभागीय मन्त्रीसमेत अनुगमनमा जानुभएका थियो ।
संसदीय टोलीमा वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि हुनुहुन्थ्यो । सेनाको एमआई १७ हेलिकप्टरबाट २० सदस्यीय टोलीले विमानस्थलको अनुगमन गरेको हो ।, गोरखापत्रमा खबर छ ।