
काठमाडौं — भारतको राजस्थानस्थित झुंझुनूमा ९५ वर्षीय एक वृद्ध मरेको चार घन्टापछि पुनर्जीवित भएका छन् ।
बुद्धराम गुर्जर नामक ती वृद्धका दुई छोरा बालूराम र रणजीतले दिउँसो डेढ बजेतिर पिताको मत्यु भएको जानकारी सबै नातेदारलाई दिए । अन्तिम संस्कारको तयारी गरिएको थियो । मुखाग्नि दिनका लागि छोराहरूले मुण्डन पनि गरिसकेका थिए ।
तर उनीहरू नुहाउनका लागि जाँदा मानिसहरूले वृद्धको शरीरमा सास चलिरहेको अनुभव गरे । अनि उनलाई ओछ्यानमा पल्टाइयो । केही समयपछि उनले बोल्न थाले ।
अनि त नातेदारहरू खुशी भए । भगवानको चमत्कार भन्दै मानिसले पूजापाठ गर्न थाले ।
बालूरामले भने, ‘हामीहरू अन्तिम संस्कारको तयारी गरिरहेका थियौं । त्यतिखेरै शरीरमा हलचल भयो । हामीले कान लगाएर मुटुको चाल सुन्दा सास हलुका चलिरहेको पाएँ ।’
एजेन्सी