
काठमाडौँ– हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आज तेस्रो दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरी मनाइँदै छ ।
आज उद्योग, कलकारखाना, व्यापारी, व्यवसायीले पनि भगवती लक्ष्मीको पूजा अर्चना गर्ने गरेका छन् । त्यसका लागि घर, पसल, उद्योग व्यवसायलाई सजाइएको छ । घरका ढोका र पसलहरुमा फूलका मालले झकिझकाउँ पारिएको छ ।
तिहार फूलको पर्व समेत हो । तिहारको टीकाको दिन दिदी बहिनीले दाजूभाइलाई मखमलीको माला लगाइदिएर दीर्घजीवनको कामना गर्ने गरेका छन् ।

फूलको मौसम भएका कारण पुष्पव्यवसायीहरुलाई अहिले मालाको व्यापार गर्न भ्याइनभ्याइ रहेको छ ।
तर, नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ ।
आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि फूल व्यवसायी चिन्तित बनेका छन् ।

नेपाली बजारमा ६ करोड ६० लाख मूल्य बराबरको फूलको कारोवार भइरहेको भनिरहँदा भारतबाट ४० लाखको फूल आयात भइरहेको जनाइएको छ । फ्लोरिकल्चर एशोसियनका उपाध्यक्ष रामजीप्रसाद तिमल्सिनाका अनुसार यस वर्षको तिहारमा ११ लाख माला खपत हुने अनुमान छ ।
बजारमा सयपत्री प्रतिमाला ४० देखि एकसयसम्म बिक्री भइरहेको छ भने मखमली प्रतिमाला रु २५ देखि ४० सम्म बिक्री भइरहेको छ ।

















