२८ जेठ २०८३, बिहीबार

हराउँदै मौलिक संस्कृति : होहल्ला गरेरै खेलिन्छ देउसी भैलो

कात्तिक २१, २०७५
हराउँदै मौलिक संस्कृति : होहल्ला गरेरै खेलिन्छ देउसी भैलो

सुर्खेत – उतिबेला तिहार आउनुभन्दा पन्ध्र दिन अघिदेखि नै विद्यार्थी तथा युवा क्लबहरूले देउसीभैलीको तयारी गर्ने गर्थे । उनीहरूको धेरै दिनको मेहनतले उनीहरूलाई गाउँमा जान र देउसी भैलीलाई आकर्षक बनाउन सहयोग हुन्थ्यो । देउसी भैलीको साथमा आकर्षक नृत्य पनि हुन्थ्यो । दुई मादल, खैंचडी, बाँसुरी र चाँपहरूको प्रयोग गर्ने गरिन्थ्यो । मौलिकतामा देउसी भैली खेल्ने र आशिष दिने प्रचलन उतिबेला थियो ।

तर अहिले त्यो संस्कार हराउँदै गएको छ । मंगलबार सिम्ताको जामुने बजारमा तीनवटा देउसी भैली टोली भेटिए । सल्यानको सल्लीबजारमा १० भन्दा बढी देउसी टोली भेटिए । गुर्भाकोटको बोटेचौर, मेहलकुना, छिन्चुजस्ता शहरोन्मुख बजारमा देउसी खेल्नेहरूको लाइन थियो । तर ती लाइनहरूमा दुईवटा स्पिकर, सोलार पाता र छात्राहरूको स्थानीय ड्रेस बाहेक अरु केही थिएन । न देउसी भट्याइन्थ्यो, न गीतहरू गाउने प्रचलन नै थियो । आयो डेक बजायो हल्लियो अनि पैसा संकलन गरेर अर्को पसलमा गयो । बस यही प्रचलन थियो ती देउसी भैली खेल्ने टीमहरूको ।

त्यति मात्रै होइन जाजरकोट डोल्पा सडकमा चल्ने हरेक सवारी साधनलाई उनीहरूले रोक्ने गरेका थिए । उनीहरू गाडी चालकसँग पैसा माग्थे र नदिएसम्म बाटोसमेत छाड्दैन थिए ।

देउसी भैली खेल्ने पहिलेको प्रचलन करीब-करीब लोप नै भइसकेको छ । जामुने बजारका रवीन्द्र केसीले लोकान्तरसँग भने, 'अहिलेका युवा र बालबालिकामा हल्ला गर्ने र पैसा संकलन गरेर भोज खानेबाहेक पुरानो संस्कृति संरक्षण गर्ने कुनै छाँटकाँट देखिँदैन ।' तिहारलाई पैसा संकलन गर्ने माध्यमका रूपमा लिन थालिएको छ ।

उनले अहिले पश्चिमा संस्कृतिको प्रभाव र अत्याधुनिक प्रविधिका कारण पहिलेको परम्परा लोप हुँदै गइरहेको बताए । शिक्षक रंगनाथ खनालले मौलिक कला  र संस्कृतिको प्रवर्द्धन, प्रचार-प्रसार र संरक्षण गर्नुपर्ने बेला आइसकेको बताए ।

'हामीले आफ्नो परम्परालाई भुल्दै अर्कैको परम्पराको सिको गर्न थालिसक्यौं,' उनले भने, 'यसले हामीलाई परनिर्भरतातर्फ त धकेल्छ नै, हाम्रो कला साहित्य र संस्कार जस्तो महत्त्वपूर्ण सम्पत्ति स्वाहा भएर जानेछ र त्यसले हाम्रो पहिचान नै समाप्त पार्नेछ ।

यसकालागि स्थानीय तथा प्रादेशिक सरकारले संरक्षण र संवर्द्धनको कार्य शुरू गर्नुपर्ने उनको सुझाव छ ।

salt training

कमेन्ट गर्नुहोस्