काठमाडौँ– नेपाल आयल निगमले तिहार बिदाको समयमा पेट्रोलियम पदार्थ पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ ।
निगमको थानकोटस्थित डिपोले काठमाडौँ उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ ।
प्रत्येक पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले जानकारी दिए ।
सार्वजनिक बिदाका दिनमा पनि आकस्मिक रुपमा इन्धनको माग भएमा उपलब्ध गराउन दुई अधिकृतकसहित आठ कर्मचारीलाई तयारी अवस्थामा राखिएको डिपो प्रमुख रेग्मीले बताए ।
निगमले दशैँको सार्वजनिक बिदाका दिनमा समेत उपत्यकामा इन्धनको अभाव हुन नदिन डिपो खुल्ला नै राखेको थियो ।
निगमको थानकोटस्थित डिपोमा डिजेल ७० लाख र पेट्रोल ४० लाख लिटर भण्डारण क्षमता रहेको छ । डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेकाले कुनै अभाव नहुने उनले बताए ।