
काठमाडौं–हिन्दू नेपालीको दोस्रो ठूलो चाड, तिहार । उज्यालो पर्वका रुपमा लिइने तिहारमा अन्य धर्मका व्यक्तिको पनि उत्तिकै सहभागिता हुन्छ ।
तिहारको सबैभन्दा आकर्षक पक्ष हो, देउसी–भैलो । वाल्यकालको देउसी सबैको मानसपटलमा होला नै । हामीले यस पटक कलाकारको तिहार र देउसी–भैलोको अनुभव समेटेका छौं ।
चर्चित हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा लामो समय सहकार्य गरेका हास्य अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुढा’को वाल्यकालको तिहार कस्तो थियो त ? प्रस्तुत छ हास्य अभिनेताद्वयले लोकान्तरसँग साटेको आफ्नो बाल्यकालको तिहार अनुभव:
बहिनीलाई दिने दक्षिणा जुटाउने पिरलो हुन्थ्यो: सिताराम कट्टेल (धुर्मुस)
मेरो बाल्यकाल जन्मस्थान सोलुखुम्बुको नेचाबेतघारीमा बित्यो । बाल्यकालमा तिहार नजिकिएसंगै एक किसिमको उत्साह त हुन्थ्यो नै । तर मलाई भने टीका लगाएपछि बहिनीलाई दक्षिणा दिनुपर्छ भन्ने कुराले पिरोल्थ्यो । अरु कुराको लागि भए त घरबाट दिनुहुन्थ्यो, तिहारको टीका लगाएको पैसा आफै कमाएर दिनुपर्छ भन्ने मान्यता हुँदा दक्षिणा जम्मा गर्न म साथिहरुसंग रातभरी देउसी–भैलो खेल्थेँ । देउसी भैलो खेलर दक्षिणाका लागि पैसा जम्मा गर्यो । पछि फेरि साथीहरुले तास, कौडा खेल्न उक्साउँथे । अनि त्यो खेल्दा दक्षिणा दिनका लागि बल्लबल्ल जम्मा गरेको पैसा सकिन्थ्यो ।
टीकाको दिन देउसी भैलो खेल्न हिँड्नु नि भएन् । यसरी देउसी भैलो खेलेर जम्मा गरेको पैसा तास, कौडामा हारेपछि बहिनीलाई दिने दक्षिणा नहुँदा कति वर्ष त यसपटक उधारो है भनेर टार्ने गर्थे । ति कुराहरु मैले अहिलेसम्म पनि सम्झन्छु । बाल्यकालमा देउसी भैलो खेल्न विशेष मन पथ्र्यो । अहिले पनि उत्तिकै मन पर्छ । तर अहिले काममा व्यस्त हुँदा देउसी भैलो खेल्न पाइँदैन । पहिले–पहिले आफैं खेल्दा जति रमाइलो हुन्थ्यो, अहिले अरुले खेलेको हेर्दा–सुन्दा पनि उत्तिकै रमाइलो लाग्छ ।
बढी पैसा पाउने लोभले देउसी भैलो भट्याउँथेः केदार घिमिरे (माग्नेबुढा)
मकवानपुर जिल्लाको ठिङ्गन भन्ने स्थानमा मेरो बाल्यकाल वित्यो । बाल्यकालमा तिहार आयो भन्नेवित्तिकै छुट्टै उत्साह छाउँथ्यो । देउसी भैलो खेल्न पाइने, मिठामिठा खानेकुरा खान पाइने, आदी कुराले रमाइलो लाग्थ्यो । बाल्यकालमा देउसी भैलो भन्नेवित्तिकै म हुरुक्कै हुन्थेँ । समूह बनाएर देउसी खेल्न जान्थेँ । २०३६/३७ सालतिरको कुरा होला । गाउँको उकालो–ओराला बाटो । विजुली बत्ति थिएन् । टर्च लाइट पनि त्यति प्रयोगमा थिएन् वा हाम्रो घरतिर त्यति प्रयोग गर्दैनथे । हामी साँझ परेपछि देउसी भैलो खेल्न हिँडिन्थ्यो ।
हामी ४/५ दिन अघिदेखी निगालो, बाँसको दाउरा बनाएर तयारी अवस्थामा राख्थ्यौं । बाँसलाई चिरेर, सुकाएर राख्थ्यौं । र रातिमा देउसी भैलो खेल्न जाँदा त्यही बालेर जान्थ्यौं ।
केटाकेटीको समूहमा त्यसरी हिँडदाको आनन्द बेग्लै हुन्थ्यो । त्यो बेला देउसी भट्याउने कुरामा प्रतिस्पर्धा नै हुन्थ्यो । भट्याउनेलाई बढी पैसा हुन्थ्यो । त्यसैले बढी पैसा कमाउने लोभले बाल्यकालमा देउसी भट्याउन म सधै अघि सर्थेँ । मलाई बुवाले देउसी भैलो भट्याउन सिकाउनुहुन्थ्यो । मैले बुबाले सिकाएका वाक्यहरु कपिमा लेखेर राख्ने गर्थेँ । र नसम्झने बाक्यहरु त्यही हेरेर भट्याउँथेँ । त्यो समय देउसी भैलोको समूहलाई एक मोर, कोही–कोही अलि सम्पन्नले १ रुपैयाँ दिन्थे । २०४९ सालदेखी काठमाडौंमा बस्न थालेँ । अलि ब्यस्त बन्दै गएँ । देउसी भैलो खेल्न त मन लाग्छ । तर, अचेल व्यस्तताले गर्दा खेल्न पाईँदैन् । तर अरुले खेलेको देख्दा भने आनन्द आउँछ ।