२२ असार २०८३, सोमबार

पञ्चायत बिरुद्ध लडेका शिवचन्द्र– राजा महेन्द्रलाई बम प्रहार गर्न कुरिरहे...

कात्तिक २४, २०७५
पञ्चायत बिरुद्ध लडेका शिवचन्द्र– राजा महेन्द्रलाई बम प्रहार गर्न कुरिरहे...

महोत्तरीको लोहारपट्टी नगरपालिकामा शहीद शिवचन्द्र मिश्रको जन्मजयन्तिको अवसरमा आयोजित श्रद्धान्जली सभा मनाइएको छ । १९ कार्तिकमा नेपाली कांग्रेस नगर समितिले आयोजन गरेको उक्त सभामा स्थानीयबासीहरू, नेपाली कांग्रेसको २ नम्बर प्रदेशको संसदीय दलका नेता रामसरोज यादव, पूर्व सांसद महेन्द्र कुमार मिश्र, लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादव लगायतले शहीद मिश्रको फोटोमा माल्यार्पण गर्दै उनको योगदान स्मरण गरेका थिए । देशमा लोकतन्त्र प्राप्तिका लागि उनले पुर्याएको योगदान बारे सबैले चर्चा गरेका थिए ।

तत्कालिन पञ्चायती ब्यवस्था बिरुद्ध आफ्नो ज्यानको आहुती दिएका शहीद शिबचन्द्र मिश्रको आजकै दिनमा जन्म भएको थियो । जन्मजयन्तीका अवसरमा उनको पैत्रिक गाउँ महोत्तरीको लोहारपट्टीमा उनलाई स्मरण गरिएको छ । 

को हुन् शहीद शिवचन्द्र मिश्र ?

विक्रम सम्बत १९९९ साल कार्तिक १९ गते तत्कालिन महोत्तरी सर्लाही गोश्वाराको लोहारपट्टी गाउँमा शोभित मिश्र र झरिया देबीको कान्छो छोराको रुपमा शिवचन्द्र मिश्र जन्मिएका थिए । बाल्यकाल देखि नै गाउँघरमा बिद्रोही स्वभावका थिए उनी । १३ बर्षको उमेरमै जनकपुरको सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए, उनले । त्यस पछि भारतको बिहारमा उच्च शिक्षा अध्ययनका लागि गए ।

बीएल अध्ययन गरिरहेको बेला नेपालमा राजनीतिक उथुलपुथुल भयो । 

राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालासहित मन्त्रीहरू तथा नेताहरूलाई जेलमा हालेर पञ्चायती ब्यबस्था सुरु गरे पछि भारतमा अध्ययन गरिरहेका विद्यार्थीहरू स्वस्फुर्त रूपमा संगठित भए । महोत्तरीकै डाम्हीका चिन्ताहरण सिंह, रामचन्द्र सिंह,पिपराका हरिसुन्दर मिश्र,रतौलीका राजेन्द्र मिश्र लगायतका विद्यार्थीहरूले भारतमै विद्यार्थीको एउटा मोर्चा बनाए । त्यहीं अध्ययन गरिरहेका धनुषाको जटहीका दुर्गानन्द झा, बसहियाका माहाबीर सिंह लगायतका बिद्यार्थी पनि उक्त टीममा सामिल थिए ।

त्यसै बेला राजा महेन्द्रको जनकपुर आउने कार्यक्रम तय भएको थियो । जनकपुर बिमानस्थलमा आएर जानकी मन्दिरको दर्शन गरेर रंगभूमि मैदान बारहबिघामा सम्बोधन गर्ने उनको कार्यक्रम तय भएको थियो । त्यसैले त्यही कार्यक्रममा केही न केही गर्नु पर्छ भन्दै भारतमा बिद्यार्थीहरूले हिंसात्मक योजना बनाएका थिए । 

महेन्द्रमाथि आक्रमणको योजना

नेपाली कांग्रेसका पूर्व सांसद समेत रहेका लोहारपट्टीकै महेन्द्र मिश्रका अनुसार भारतमा रहेको क्याम्पमा राजा माथि आक्रमण गर्नका लागि अलग अलग तीन वटा सेल बनाईएको थियो । फेरी त्यो सेलमा को को छन् भन्ने कुरा सेलमा हुने व्यक्तिलाई समेत जानकारी गराईदैनथ्यो । मिश्र भन्छन्,‘किन भने मुखबिरी गर्ने डर पनि त्यतिकै थियो । कसैले योजना भंग गर्न सक्ने खतरा पनि त्यति नै थियो । त्यसैले सेलमा को को छन्, कसको भूमिका र एक्सन के हुने  भन्ने बारे कसैलाई पनि जानकारी हुँदैनथ्यो ।’

त्यस पछि राजा महेन्द्रमाथि तीन स्थानमा आक्रमण गर्ने योजना बनेको थियो । जनकपुर विमानस्थलमा अरविन्द ठाकुरलाई, जनाकी मन्दिरमा दुर्गानन्द झालाई र बारहबिघा मैदानमा शिवचन्द्र मिश्रलाई बम प्रहार गर्न खटाइएको थियो । 

राजा महेन्द्र जनकपुर विमानस्थलमा आउनु अघि नै बम बोकेर विमानस्थल पुगेका अरविन्द ठाकुर पक्राउ परे । त्यस पछि ब्यापक सर्च हुन थाल्यो । २ घण्टा पछि राजा महेन्द्र विमानस्थलमा आए । त्यस पछि राजाले जानकी मन्दिरमा पूजा गर्न जाँदा दुर्गानन्द झाले राजा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार गरे । राजा महेन्द्र जोगिए, उनी चढेको गाडीमा क्षति भयो ।

अर्को स्पोट बारहबिघामा शिवचन्द्र मिश्र बम सहित तैनाथ थिए । त्यहाँ रहेको तेस्रो सेलमा आबद्ध रहेका भ्रमरपूराका मिथिलेश शर्मा, बल्ताम शर्मा र सिताराम साहलाई मञ्चमै बम सेट गर्ने जिम्मा दिइएको थियो । जब जानकी मन्दिरमा दुर्गानन्द झाले बम प्रहार गरे, त्यस पछि जनकपुरमा मानिसको भागाभाग भयो । बारहबिघाको कार्यक्रम स्थगित गरियो । घर घरमा प्रहरीले छापामारी गर्न थाले । महेन्द्र मिश्र भन्छन्,‘त्यस पछि त मान्छेको धरपकड, कुटपिट मात्रै शुरु भएन, घरमा रहेका कतिपय महिलाको अस्मिता समेत प्रहरी र सेनाले लुटे ।’

दुर्गानन्द पनि भाग्न सफल भए । अर्को तर्फ बारहबिघामा रहेका शिवचन्द्र मिश्र पनि बोर्डर क्रस गरेर भारत क्याम्पमा पुगे । त्यतिबेला बोर्डर नजिककै भारतको छतौनी, उभगाउँ आदिमा क्याम्प लागेको थियो ।

पछि दुर्गानन्द झाले नेपाल आएर गिरफ्तारी दिएका थिए । त्यस पछि बोर्डर संग टासिएको नेपालको प्रहरी चौकीमै आक्रमण गर्ने योजना बन्यो । २०१९ साल असोज २३ गते महोत्तरीको सम्सी र सर्लाहीको मलंगवामा रहेको प्रहरी चौकीमा आक्रमण गरेर प्रहरीको हतियार लुट्ने योजना तय भयो ।

 शिवचन्द्र मिश्र पेस्तोल बोक्थे । तर, त्यो दिन उनी संगै क्याम्पमा रहने गरेका चिन्ताहरण सिंहले उनीसंग रहेको पेस्तोल फिर्ता लिए र बन्दुक उनलाई थमाए । त्यही बन्दुक लिएर रातिको समयमा सम्सीको प्रहरी चौकीमा उनले आक्रमण गरे । रात भरि दोहोरो फायरिंग भयो । त्यहाँ रहेको एउटा पिपलको रुखको आड लिएर मिश्रले गोली चलाईरहेका थिए । प्रहरीले पनि गोली चलाईरहेका कारण त्यो पिपलको बोक्रा समेत उखेलिएको थियो, गोलिका कारण ।

परिस्थिति यस्तो भयो की प्रहरी ब्याक भयो । चौकी छोडेर चौरी, खेत तर्फ भागे । भोलि पल्ट बिहानको समयमा जब मानिसहरू जम्मा हुन थाले, मिश्रले भाषण गर्न थाले । हाम्रो लडाई तपाईं जनताहरू संग छैन, प्रहरी प्रशासन र यो पञ्चायती ब्यबस्था बिरुद्ध हाम्रो लडाई हो भन्दै सम्सी बजारमा जम्मा भएका मानिसहरूबीच उनले भाषण गरे । 

त्यसै सयम सम्सीका प्रधानपञ्चले भाषण गरिरहेका शिवचन्द्रलाई पछाडिबाट समाते । त्यसपछि उक्त स्थानमा प्रहरी आयो र शिवचन्द्रमाथि तीन गोली प्रहार गर्‍यो । 

२०१९ साल अशोज २४ गते उनलाई प्रहरीले गोली हानेर मारेका थिए । त्यस पछि बोर्डरमै एउटा खाल्डो खनेर उनको लाशलाई पुरिएको थियो । 

लोहारपट्टीकै केशवर सहनीले पछि गएर खाल्डोमा पुरिएको लाशलाई पहिचान गरे ।  शिवचन्द्र मिश्र मारिएको खवरले लोहारपट्टी गाउँमा सन्नाटा छायो । महेन्द्र मिश्र भन्छन्,‘त्यस पछि त मेरो गाउँ लोहारपट्टीमा करिब १५ दिन सम्म गाउँमा घरबाट पनि कोई मानिस घरबाट बाहिरिदैनथ्यो । घरमा कसैले एकआपसमा  कुराकानी गर्दैनथ्यो ।’ अबस्था यति सम्म थियो की उनको किरिया कर्म पनि गाउँमा गर्ने अबस्था थिएन । उनका हजुरबुवा शंकर मिश्रले भारतको गयामा गएर किरिया कर्म गरेका थिए ।

दाजु पञ्चायतमा प्रवेश

उनको सहादत पछि उनका जेठा दाजु रामचन्द्र मिश्र पञ्चायतमा प्रवेश गरे । पुरै खानदान कांग्रेस रहेको अबस्थामा उनका दाजु पञ्चायतमा प्रवेश गरे पछि उनलाई गोर्खा दक्षिणबाहु पदकबाट राजाद्वारा प्रदान गरिएको थियो । महेन्द्र मिश्र भन्छन्,‘मलाई लाग्छ आफ्नो सम्पतिको सुरक्षा गर्नका लागि उनी पञ्चायतमा गएका थिए । किन भने त्यति बेला पञ्चायती ब्यबस्थाको बिरुद्धमा जानेहरूको सम्पति पनि सरकारले जफत गर्ने गथर््यो ।’
२०३३ सालमा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद भट्टराई जेलबाट छुटे पछि उनको स्मृति दिबस मनाउन लोहारपट्टीमा आउँदा प्रहरीले कार्यक्रममा घेरा हालेर माईक समेत  भाँचिदिएको थियो ।

त्यस पछि शिवचन्द्र मिश्रको नाउमा गाउँमा एउटा स्मृति भवन बनाउने उद्देश्यले उनकै सगोल परिवारमा रहेको तीन कठ्ठा जग्गामा भवन बनाउने कुरा भयो । नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई सिलान्यासका लागि बोलाईएको थियो । तर उनलाई जनकपुरबाट प्रहरीले गिरफ्तार ग¥यो । त्यसपछि उक्त स्मृति भवन शिलान्याश शिवचन्द्रकी पत्नीले नै गरेकी थिइन् । 

शिलान्यास भएपनि शिवचन्द्रका दाजू रामचन्द्रले त्यहाँ भवन बनाउन दिएनन् । २०४८ सालमा महेन्द्र मिश्र प्रतिनिधि सभामा निर्वाचित भए पछि आफ्नै निजी रकम ६० हजारमा दुई कठ्ठा जमिन किनेर भवन बनाउने काम सुरु गरेका थिए ।  उनी आफैं सांसद भएको बेलाको संसदीय कोष र अन्य नेताहरूबाट प्राप्त गरेको सहयोग रकममा त्यहाँ शहिद शिबचन्द्र स्मृति भवन निर्माण गरिएको छ । करीब ३० लाख जति त्यसमा खर्च भएको मिश्रले बताए ।

सम्सी बजारमा स्मारक सहितको टावर 

शहीद शिबचन्द्र मिश्रको शहादत सम्सी बजारमै भएका कारण त्यहाँ बिगत २०५४ साल देखि नै स्मारक सहितको टावर निर्माण हुँदैछ । महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ६ मा उनको स्मारक सहितको टावर निर्माण भईसके  पनि हाल सम्म उदघाटन भएको छैन ।

त्यतिबेलाका तत्कालिन गाबिस अध्यक्ष समेत रहेका हाल र हाल क्षेत्रीय अध्यक्ष समेत रहेका उत्तिम प्रसाद यादब भन्छन्,‘अहिले टावरमा घडी लगाउन बाँकी छ, केही गार्डेन बनाउने सोच समेत रहेकाले स्मारकको उदघाटन गरिएको छैन ।’ २०५३ सालमा नै स्थानीय मोहम्मद सम्सुल्लाहको अध्यक्ष्यतामा स्मारक निर्माण समिति गठन भएको र २०५४ साला पुषमा निबर्तमान प्रधानमन्त्रीको हैसियतमा कृष्ण प्रसाद भट्टाराईले त्यसको शिलान्यास गरेका थिए । 

भएनन् शहीद घोषणा 

नेपाली कांग्रेस बिगतमा पटक पटक सत्तामा पुगे पनि मिश्रलाई सरकारले हाल सम्म शहीद घोषणा गरेको छैन ।  जब अन्तरिम सरकारको नेतृत्व कृष्ण प्रसाद भट्टराईले गरेका थिए, त्यति बेला गठन भएको एउटा समितिले उनलाई शहीदको सुचिमा राखे पनि औपचारिक रूपमा सरकारद्वारा शहीद घोषणा नगरिएको भन्दै महेन्द्र मिश्रले भने, ‘त्यतिबेला राहत स्वरूप उनका श्रीमतीलाई १ लाख रुपियाँ दिइएको थियो । तर हाल सम्म सरकारले शहिद घोषणा गरेको छैन ।’

सरकारले शहीद घोषणा नगरे पनि जनताले उनलाई शहीद मान्दै प्रत्येक बर्ष उनको स्मरणमा कार्यक्रम आयोजन गर्दै आएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्